गाईमा बाँझोपनको समस्या, ९० प्रतिशतमा नाम्ले जुका

  • ध्रुवराज खनाल

चितवन ।  राप्ती नगरपालिका ७ का अधिकांश गाईमा बाँझोपनको समस्या देखिएको छ । सोमवार आयोजना गरिएको पशु स्वास्थ्य शिविरमा परीक्षण गराएकामध्ये प्रायः गाईमा बाँझोपनको समस्या देखिएको हो । शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्था र नेपाल पोलिटेक्निक इन्स्टिच्युटको आयोजना तथा राप्ती नगरपालिका पशुपंक्षी विकास शाखा र नेपाल भेटेरेनरी स्टुडेन्ट्स एसोसियसन एनपिआई को संयोजनामा सो वडाको डुडगाउँमा शिविर भएको थियो ।

शिविरमा कूल २५० वटा पशुहरुको जाँच गरिएको शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालले जानकारी दिए । त्यसमध्ये गाई १५० वटा, भैसी २५ वटा, बाच्छी २० वटा, बाख्रा ४० वटा , पाडी १० वटा र कुकुर ५ वटाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षण गराएकामध्ये अधिकांश गाईमा बाँझोपनको समस्या देखिएको संस्थाका अध्यक्ष भुषालले बताए । त्यस्तै छालासम्बन्धी रोग पनि देखिएको छ ।

सो शिविरमा गाईभैसीको गाबरसमेत परीक्षण गरिएको थियो । परीक्षणका क्रममा करिब ९० प्रतिशत गाईभैंसीमा नाम्ले जुकाको समस्या देखिएको सहकारीका अध्यक्ष भुषालले बताए ।

राप्ती नगरपालिका पशुपंक्षी शाखा प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले आवश्यक आहारा नहुनु र सफासुग्घर नहुँदा गाईभैंसीमा बाँझोपन, छालाको रोग देखिने गरेको बताए । सो शिविरमा प्राध्यापक डाक्टर किशोर शाह, डाक्टर एगेन्द्रकुमार श्रेष्ठ, डाक्टर टीकाराम न्यौपानेलगायत नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेको थियो । साथै स्वास्थ्य जाँचपछि नेपाल पोलिटेक्निक इन्स्टिच्युटले निःशुल्क रुपमा आवश्यक औषधीसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया