‘प्रदेश १ मा काँग्रेसले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा मत हाल्नुपर्छ’

मोरङ । प्रदेश नं. १ मा काँग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
डा. कोइरालाले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहका मुख्यमन्त्रीविरुद्ध काँग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्नुपर्ने बताएका हुन् ।
मोरङ क्षेत्र नं. ३ (ख) का तत्कालीन सभापति ईश्वरी कोइराला र उनका दाजु गोपाल कोइरालाको शोकसभामा बोल्दै डा. शेखरले ओली नेतृत्वको सरकारले निरंकुश कदम अघि बढाइरहेकाले प्रदेशमा उक्त समूहका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्नुपर्ने जनाए । ‘ओली सरकार निरंकुशतातर्फ अघि बढेको अवस्थामा उसलाई सहयोग पुग्नेगरी प्रदेशमा सरकार निर्माणमा सहयोग गर्नुहुन्न, मुख्यमन्त्री विरुद्धको अविश्वासको पक्षमा मतदान गर्नुपर्छ’, डा. कोइरालाले भनेका छन् ।
यो सरकार निरङ्कुश कदममा अगाडि बढेकोले त्यसको विपक्षमा काँग्रेसले मतदान गर्नुपर्ने कोइरालाको जोड छ । अहिले यो सरकारलाई समर्थन गर्दा अधिनायकवादको समर्थन हुने उनको तर्क छ । ‘संविधानमा उल्लेख नै नभएको कसरी काम भयो ? संसद् विघटनको विरुद्धमा त्यो बेला ठुलो स्वरमा बोल्ने प्रधानमन्त्री आफैँ कसरी त्यसको हिमायती बने ?’, कोइरालाले प्रश्न गर्दै भनेका छन् ।
ब्रिटेनमा पनि दुइतिहाइ सांसदले मात्र संसद् विघटन गर्न पाउने उदाहरण पेश गर्दै डा. कोइरालाले काँग्रेस प्रष्टरुपले संसद् पुनर्स्थापनाको पक्षमा रहेको बताए । डा. शेखरले असंवैधानिक कदमको विरुद्धमा सशक्त रुपमा उत्रन नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।
यो सरकारलाई हौसला दिने प्रचण्ड–माधव भएको उनको भनाइ छ । साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको उनले बताए । ‘यो सरकारले तत्कालीन नेकपा एमालेका कार्यकर्ताका हत्यारा कालीबहादुर खामको बचाउ गर्ने र पार्टी प्रवेश गराउने खेलमा सरकार लागेको छ । संसद् विघटन गरेपछि प्रधानमन्त्री स्वतः कामचलाउ हुनुपर्नेमा महत्वपूर्ण निर्णय गर्दै हिँडेका छन्’, उनले भनेका छन् ।
शोक सभामा उनले सुरुमै सबैलाई मास्क लगाउन आग्रह गरे । स्वर्गीय कोइरालाको निवास लेटाङको बुधबारेमा आयोजित सभामा मास्क लगाएर मात्र हिँड्न आग्रह गरे । ‘कृपया मास्क लगाउनुस् केही दिन अगाडि मैले मेरै दाइ निरञ्जन कोइरालालाई कोरोनाको कारण गुमाए’, उनले भनेका छन्, ‘आज हामी कोरोनाकै कारण मृत्युवरण गरेका मेरा मित्र गोपाल कोइराला र भाइ ईश्वरी कोइरालाको शोक सभामा छौं । यो कोरोनाको औषधी नै मास्क भएकोले मास्क लगाउन नभुल्नु होला ।’









