गुरुकुले बाडुली

  • आकाशनीलम् ( गोविन्द )

कति अगाडि भने .. ह्या ठ्याक्कै मिल्नुपर्छ भन्ने के छ र ? श्राद्ध तिथि होइन । जन्ममिति होइन । सम्झिनुस् म किशोर हुँदै गर्दाको वा हुन हुन आँट्दाको कुरो हो । एकजना अग्लो गुरुजी हुनुहुन्थ्यो । गुरुकुलमा । बडो नैष्ठिक मान्छे । पीत वस्त्र धारण गरेर वेद पढाउनुहुन्थ्यो । यजुर्वेदीय ऋचा काइदाले गुञ्जिँदा वहाँको घाँटीको नसा भनें फुलेर कुमुदिनीको नाल जस्तै देखिन्थ्यो । सन्ध्याबन्धन, कत्रो धेरैबेर पाठ, शङ्करजीलाई जल…….अरु पनि थुप्रै थोक दिनहुँ गर्नैपर्ने । निकैबेर नाक समाएर ॐ भन्नुहुन्थ्यो । “श्रीमुक्तिनाथ वेद विद्याश्रम “। विभिन्न पर्वमा वा यसै पनि महिना र डेढ महिनामा कपाल खौरनै पर्ने । वहाँले पनि , हामीले पनि । गुरेहरु घोकेका कुनै श्लोके प्रमाणको भाका हाल्दै भुत्ते ब्लेड लिएर कपाल खौरिदिन झम्टिहाल्ने । बलको ठिङ्गो शिकारी जस्तो । मरिजाउँ ! जाडोमा कामेको जिउ । अझै कपाल खौरँदा दुखेर आँशु नै निस्किएर तप्प झर्थ्यो ।

अब कुरामा आउँछु । घरबाट निकै टाढा पुगेको थिएँ म, जहाँ मेरा धेरै साथी थिए । जसमध्ये म अहिले चाहिँ एउटालाई सम्झिँदैछु निकै रोमाञ्चकताका साथ । उसका आफ्नै केही हर्कत वा तमासा थिए । मैले तमासा भनें भनेर तपाईंले पनि यही भन्नुपर्छ भन्ने छैन । तपाईं बानी भन्न सक्नुहुन्छ । अप्ठ्यारा त लाग्थे नै कौमुदीका सूत्रहरु हामीलाई पनि । तर धुर्वेलाई त्यस्तो नलाग्ने फिटिक्कै ।

मैले हेपेर धुर्वे भनेको होइन है । उसको जन्मदर्ताको कागजमै नाम ‘धुर्वे’ लेखिएको छ । सबैले ‘धुर्वे’ भन्थे त म चाहिँ किन संशोधक बन्नु ? उसले सबै घोकेर उसलाई कौमुदी अप्ठ्यारो नलागेको होइन । ठ्याम्मै नपढ्ने हुनाले उता भित्तो यता रित्तो भएर सम्म… लागेको मात्रै हो । थाल घुमाई–घुमाई ‘दुई किलो’ भात खान्थ्यो र मौसमअनुसार पङ्खा चलाएर वा शिरक ओडेर घुर्दै सुत्थ्यो । उसले एक पन्ना भरेर लेखेको मैले कहिल्यै पनि देखिनँ । त्यसैले साना साना फट्याङ्ग्रा मारेर टाँसेजस्ता लाग्थे उसका अक्षरहरु । यो मेरो दाबी हो ।

धेरै पटक गुरुजीहरुले अब यसलाई निकाल्नुपर्छ । गुरुकुलीय अनुशासन ठ्याम्मै पार्यो भनेर कुरा गरिरहेको सुनिए तापनि अघि भनेको वेदपाठी गुरुले र संस्थापक स्वामीजीले त्यसो गर्न दिनुभएको थिएन । उहाँहरु प्रारब्ध हो, प्रारब्धले नै पढ्ने ताकत तिरोहित भएको हो । ग्रहगति ठिक भएपछि पढ्ला । तर उ महात्मा हो भन्नुहुन्थ्यो । लेखपढको कुरालाई झिकेर एकातिर राख्ने हो भनें चाहिँ ऊ साँच्चै बडो शान्त प्रकृतिको गम्भीर मनुष्य थियो । अनि दुष्ट मुस्कान दिपनि फिटिक्कै नजान्ने ।

हामी आपसमा गफिँदा गुरुहरुकै वा कुरा नमिल्ने साथीको कुरा काटेर निन्दक पारा देखाइहाल्थ्यौं । ऊ मौन बस्थ्यो । कसैको कुरा नगर्ने । उसको लुगा, खाने कुरा, पैसै पनि कुनै जिह्वालोलुप बच्चाले (हामीमध्ये कोहीले पनि) झिकिहालेमा पनि खासै आपत्ति हुँदैन थियो उसको । गुरुकुल प्रवेशको छ महिनामा उसले तीन चारवटा श्लोक मुखाग्र पारेको थियो । थप आधा अधुरा केही माहेश्वर सूत्रहरु भन्थ्यो । केही महिनापछि तीन चारवटा ऋचा कण्ठ भएको र मामाघरको धार्मिक कार्जेमा तिनै मन्त्रहरु ठूल्ठूलो आवाजमा दोहोर्याउँदै पाठ गरेको, फलतः स्याबासी र दक्षिणा एकसाथ पाएको कथा ऊ सुनाउँथ्यो ।

मामाघरमा आतेपाते गर्न आएका कुनै बाजेलाई शुद्ध मन्त्रवाचन भएन तपाईंको भनेर झाँको झारेको भन्नेसम्म आँट पनि हामीसँग गरेको थियो एकपटक उसले । ऊ शरीरले निकै राम्रो थियो । आश्रमबाट ननिकाले पनि गरि चाहिँ खाँदैन यसले भन्ने वाक्य गायत्री मन्त्रभन्दा बढी गुरुजीहरुको मुखबाट सुन्दा मलाई पनि हो हो जस्तै लागेको थियो । शायद सबै नै यसमा सहमत थिए । खाना मीठो नमीठो जान्दैन थियो । ‘आलबन्दार’ स्तोत्र पाठ गर्दा गर्दै निदाउँथ्यो । कोही समाधि लागेको भनेर व्यङ्ग्य कस्थे। बैसठ्ठी सालमा हामी नौ जनाले “पूर्वमध्यमा अर्थात् यताको एसईई उत्तीर्ण गर्यौं । उसले पनि गर्यो । कसरी ? चकित नपर्नुहोला । जसरी …त्यसरी । सबै कुरा खुलस्त भन्नै पर्ने मेरो व्रत छैन । म आफू छट्टु थिएँ । मिहिनेत, खुरापाती, चुक्ली, चाकडी यी सबै थोरै थोरै मिसाएरै व्यवहार गर्ने हुनाले म गुरुकुलमा ‘सफल छात्र’ भित्र थिएँ । मेरो हिसाबमा प्रथम अरुको हिसाबमा पनि अघि अघि नै पर्थें । धेरै पटक मेरो गल्ती अरुलाई लगाएर कुटाइ पनि खुवाएको हुँ ।

धुर्बे, म र अरु साथीपनि उत्तरमध्यमा पढ्न थाल्यौं । अब भने पढाइको उसको वास्तविक अवस्था छर्लङ्गै भयो सबैलाई । वाल्मीकि संस्कृत कलेजको चौरमा राजनीति, समाजिक बनोटलगायत विषयमा बकम्फुसे गप्पु गफ दिनँ सिक्दै थिएँ म । वेलाबखत अन्तर्राष्ट्रिय पनि अमेरिकासम्मकै भ्याई दिन्थेँ । पाङ्दुरे मेरो संश्लेषणात्मक वायु अर्थात् हावा पुराण । एकदिन धेरैजनाको बिचमा उसले फ्याट्टै लामा पाणिनीय सूत्रहरु सबै शिखरिणी छन्दमा छन् भन्द्यो !

कहाँ गएर एक गिलास चिसो पानी पिउँजस्तो भयो मलाई । अरु हाँसे । उसले एक दुई पटक जाँच दियो । मतलब परीक्षा भवनमा बस्यो । मलाई धेरैवटा कारणले ऊ मन पर्थ्यो । अथवा फाइदाका लागि म उसलाई उक्साउँथें । उसवेला अर्काले भनेको आफूलाई घत लाग्ने कुरा छन् भनें अर्को दिन वा ठाउँमा मेरै भनाइजस्तो पारेर भन्ने ज्यादै नरमाइलो आदत बसेको थियो मेरो । अहिले चाहिँ करिब–करिब यो दुर्गुण चाहिँ छैन । उमेर, अनुभव अनि जिन्दगीको भोगाइ, उठाइ, बसाइ एउटै हुँदा पनि मलाई उसले ‘दाइ’ भनेर सम्बोधन हाल्न थालेको थियो । म उप्रति खास धूर्त थिइनँ ।

अलिपछि उसले पढ्न छाड्यो । मेरो पनि गुरुकुलमा जस्तो पढाइ फिटिक्कै भएन । तर गुरुकुलकै ताकतमा अलिअलि आधारभूत शब्द, प्रक्रिया र अनुवाद जान्दथें । अक्षर राम्रै थिए । जाँचमा सबै खाले उपाय लगाउँथे । (बुझ्नु नै भयो होला) । पास त भैगएँ । म शास्त्री पढ्न थालें । मेरो कौपीनमित्रम् धुर्वेलाई पनि पास गराउन मनमनै सोच्थें तर त्यो ब्यर्थ भैगयो ।

विरक्तिएर हो वा सनक चढेर उसले एकदिन सुरेशलाई दोक्च्याएछ । ठूलो हुने क्रममा अब अलिकति जिम्मेवारी बोध थियो । उसलाई पनि, मलाई पनि । डेढ र दुई वर्ष विना पैसा सुकेको घिरौंलाजस्तो मुख पारेर यता र उता गर्दै उ भौतारिएको देख्थें । म मारवाडीको कारखानामा हनुमान चालिसा र मानस सुन्दरकाण्ड पाठ गर्न जान्थें नियमित । कहिलेकाहीँ सहायक फुच्चे बाजे भएर जजमानी गुरुको सहयोगी भूमिकामा हिंड्थें । खर्च जुटाउँथें । उसलाई पनि सकेसम्म जोड्न खोजे पनि मैले तर सम्भव किन भएन भने उसको जपमा उँङ्ने आदत थियो । पाठ जान्दैन थियो । जजमानले रुचाउँदैन थिए । म पनि सुरुवात् मै त थिएँ । केही सरसापट चाहिँ मैले उसलाई भरथेग गरेको याद छ । कठोर गरिबीमा गुज्रेका ती दिनहरुमा ।

ऊ आफ्ना बुवाले दाउरा चिरेर गरेको गुजारा देख्थ्यो । आमा सोझी तर मार्मिक कथाको मूर्त पात्र जस्ती हुनुहुन्थ्यो । ऊ बहिनीलाई औषी माया गर्थ्यो । घर जाँदा जसरी भए पनि केही चकलेट लिएर जान्थ्यो । एकदिन उ अचानक भक्कानियो । धेरैबेर सोधेपछि बहिनीको याद आएर भनेको थियो मलाई । रुँदा रुँदा आँशुले परेलीको डिल नै भत्काएजस्तो उसको अनुहार फुटेको र पैसा सबै झिकेको माटाको खुत्रुके जस्तो खङ्र्याङ्गको देखिन्थ्यो । यावत् कुराले हुनुपर्छ ।

निराशता, कुण्ठा र के के नमिलेको उसको चेहरामा म पढ्थें । यसकै उपज हो कि के हो बातचीतमा अश्लिल शब्दहरु भरमार मिसाउन थालेको थियो । छाडा शब्दले बीचबीचमा सम्पुट लगाउँथ्यो बोलीमा ।

कहिले भरेको थियो थाहा छैन । उसलाई अमेरिका जाने चिठ्ठा डीभी परेछ । त्यो दिन खुशीले धेरै दिनदेखि गढेको ग्यास्ट्रिक फाल्दै उफ्रिएको थियो ऊ । उधुमै गरेको हो । मजस्तै फुट्टो अङ्ग्रेजी जान्दैन थियो । धरोधर्म ! सबै कुरा मलाई विश्वासले भनेको हो उसले । अमेरिका गयो आर्जन गर्यो । बलियो थियो शारीरिक कामै पनि उसलाई गाह्रो थिएन । सबै अक्क न बक्क जस्तो भएका हुन् उसले डीभी परेको सुनाउँदा । आखिर नपत्याउँदा नपत्याउँदै ऊ गएरै छोड्यो त अमेरिका । घरको आयस्ता राम्रो भयो । त्यहाँ उसले अङ्ग्रेजी बोल्न सिकेछ । नबोलि सुख पनि त भएन नि । (म पनि इङ्लिस स्कूलको दिनहुँको लामो सङ्गत र अलि अलि बठ्याइँले अङ्ग्रेजीमा दुखम् सुखम् काम चलाउने भएको छु ।) उसकी बहिनीले स्नातक सिध्याउन लागेकी छिन् । लकडाउनले गर्दा केही ढिलो भएको हो ।

म जब ऊसँगको समय सम्झन्छु नि ‘मरिजाउँ यसले गरेर खाँदैन’ यो उस समयको गुरुकुलमा भनिने वाक्य जति निरर्थक वाक्य अर्को शायदै लागेको छ मलाई । किनकि मनले, धनले र तनले आज ऊ जत्ति सफल र सबल छ । त्यो गुरुकुलमा पढ्ने मैले चिनेको अर्को कोही पनि छैन । कसैले किताबका दुई चार कुरा जानेकोमा उफ्रिपाफ्रि नगर्ने हो भने । नढाँटी भन्दा डेढ बर्ख अघि मेरो विवाहमा उसले दिएको दुई लाख तिरेकै छैन । माग्दै माग्दैन । नमागी म दिन्नँ । मागे पनि एक दुई पटक चाहिँ मिति पर पर धकेलेर मात्रै दिने बिचार गरेको छु ।

यहाँनेर गुरुकुलमै घोकेको प्रासङ्गिक एउटा श्लोक सम्झन्छु
राष्ट्रस्य चित्तं कृपणस्य वित्तम् ।
मनोरथं दुर्जनमानुषाणाम् ।
स्त्रियश्चरित्रं पुरुषस्य भाग्यम् ।
देवो न जानाति कुतो मनुष्यः ।
कसैले यो श्लोकलाई यसरी पनि अर्थ्याएको पाइन्छ कोही कोहीले… पुरुषको भाग्य देउताले ता जान्दैनन् साला मान्छे त कुत्ता हो । भनेकै छ ‘कुतो मनुष्यः’ ।

मलाई लाग्दैन कि मान्छेले मान्छे भएर जन्मिएको भन्दा ठूलो अर्को कुनै जित छ । मान्छे भएर जन्मिनु सबैभन्दा ठूलो जित हो भैरे ! तर फेरि नि के साह्रो किताबी कुरामा हाम्रो यत्रो साह्रो तुजुक ! एक जनाले भन्नुहुन्थ्यो अथवा धेरैले नै भन्दारान् नेपाल भन्ने देश, नेपाली भाषा र हाम्रो रैथानेपन पढे/लेखेकाले बिगारेका र किताबी अक्षर चिल्लै नजान्ने सोझा गाउँलेहरुले बचाएका हुन् । त्यसैले त भनिन्छ किताबको ज्ञानभन्दा लोकज्ञानमा ताकत धेरै हुन्छ । ब्रह्माण्डमा यति धेरै ज्ञान छ । एक एक विचारभित्र एउटा अलग विधा र निधि पाइन्छ भने आफूले बुझेको भन्दा अलिकति पनि फरक धारको कुरा कसैले गरेमा उसलाई डेडा आँखा तेसारिहाल्ने साह्रै घामट आदत हाउ हाम्रो ! यही आदतले हायल कायल भएका मेरा केही गुरुकुले गुरुहरु चलाख्याइँ  जान्ने, अगाडि ठिक्क पार्ने र भान्सालाई जनरहित अवस्थामा देखे शालिग्रामलाई चढाउन राखेको दुध पनि चप्काइदिने म जस्तालाई चाहिँ किताब रटेको आधारमा बडो बुद्धिमान् सम्झन्थे ।

कसैको केही नबिगार्ने मनको राजा धुर्वेलाई चाहिँ हलनटट्टु देख्थे र गरिनखानेको पगरी गुथाइदिन्थे । अहिले सम्झँदा लाग्छ गरेर खानु भनेको के हो भन्नेबारे नै गुरुकुलीन गुरुहरुले बुझ्न बाँकी थियो वा उहाँहरु आफ्नो परिभाषा र परिधीभित्रको काम र उही शास्त्रीय जीवनचर्यालाई गरिखाएको वा प्रगति उन्नती गरेको परिभाषाभित्र समेट्नुहुन्थ्यो/समेट्नुहुन्छ ।

मेरी आमाले मुश्किलले नेपालीमा लेखेका केही हारका शब्दहरु बाँच्नुहुन्छ । तर अलिकति स्वास्थ्य गडबड हुँदा म आत्तिन्छु । मर्छुजस्तै हुन्छ ।आमा भने भएको के हो ज्वानो भुट्ने हो कि जाइदानो कुट्ने हो सबै छिनभरमै निर्णय गरिसक्नुहुन्छ । बा दशैं आउन लाग्दै केरा काटेर भकारीमा भुसमा राख्नुहुन्छ । यो शील्प मूर्खमणी मैले के जान्दथें र ?

के कुरा गर्नु बरै ! एउटा काठ खोपेर दूध जमाई दही घिउ निकालेर खान जान्ने हाम्रा पुर्खाहरु कसै कसैले अक्षर नै चिनेनन् तर भाइचारा साह्रा दुनियाँलाई सिकाए । माटो मुनि मुला खाँदेर सिन्कीको स्वाद चखाए । लाखबत्ति बाट्ने, गाउँमा पुरान लाग्दा घर घरबाट दूध र फुलपाती बोकेर जाने वा मलामी र मानो चामलको अझै ठेकी जाँतोको, दुना टपरीको, पित्को र मुन्धुमको दर्शन जगतको कुन चाहिँ आधुनिक युनिभर्सिटीमा पढाइन्छ र ? जाडो काट्न नुहाएर तिलको लड्डु, घिउ चाकु र तरुल खानुपर्छ माघ लाग्दै भन्ने कुरा पनि त गहिरो छैन र ? त्यसमा किताबको भुत्लोभाङ् सहारा छैन । मानिसको उदारता र निस्चलपन ठूलो खुबी हो । साँच्चै धुर्वे भित्रको खुबी त्यो परिवेशमा कसैले बुझेन । न डराइ भन्दिन्छु मैले पनि बुझिनँ । किताब नघोक्ने ग्वाँचे भन्ने भ्रम नमिल्काएसम्म समाज बन्नु ता इस् ! र तपाईंहरु ! तँ आफ्नै खाएर सय साल बाँचेस् ! मेरो कौपीनसखा (लगौंटे यार्) धुर्वे !

प्रतिक्रिया