‘भष्मासुर प्रतिक्रियावादीको एजेण्टले संविधानको अतिक्रमण गर्यो’

- सुमन सुस्केरा
विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्रियावादी एजेण्टको संज्ञा दिएका छन् । त्यही एजेण्टले सार्वभौम संविधानलाई अतिक्रमण गरेको अध्यक्ष दाहालको आरोप छ ।
शुक्रबार विराटनगरमा दाहाल–माधवकुमार नेपाल नेतृत्वको समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाएका हुन् । यस्तै दाहालले ओलीलाई भष्मासुरको नाम पनि दिए । ओली प्रतिक्रियावादीको एजेण्ट भएको सुनाउँदै दाहालले कथित संसद् विघटन गरेकोसमेत बताएका छन् । यद्यपि दाहालले संसद् विघटन भने नभएको दाबी गरे ।
उनले देख्दा संसद् विघटनजस्तो देखिएपनि वास्तावमा विघटन नभएको जिकिर गरेका छन् । ‘शक्तिशाली पार्टी बनाएर समाजवादतर्फ जाउँ भनेर भन्ने व्यक्ति म आफैँ हुँ’ दाहालले एकताको प्रस्ताव पनि आफैँले गरेको उल्लेख गर्दै भनेका छन्, ‘तीन वर्ष नहुँदै प्रतिगमन र प्रतिक्रान्तिको काम भयो । अहिले मलाई जनताको अगाडि भन्न पनि लाज लागेको छ ।’
यसैबीच दाहालले ओली ठगीधन्दाको माध्यमबाट अघि बढिरहेको पनि बताएका छन् । ‘केपी ओली बेइमान, ठगीधन्दा र खुरापातको माध्यमबाट अघि बढेका छन्’, दाहालले भनेका छन्, ‘प्रतिक्रन्तिहरुले ओलीलाई घेरेका छन् । सामन्त र दलाल पूँजीपतिको पक्षमा ओली उभिएर प्रतिनिधि सभा विघटन गरेका छन् ।’
ओली लक्षित नपुंशकको प्रश्न
यसैबीच दाहालले आफू नपुंशक हुनु आफ्नो दोष नभएको पनि प्रष्ट्याए । यसअघि प्रधानमन्त्री ओलीले लगाएको आरोपको खण्डन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘म नपुंशक नहुनु मेरो दोष हो ?’, दाहालले सम्बोधनकै क्रममा भनेका छन्, ‘म नपुंशक भइनँ । म नि–सन्तान भइनँ । मेरो दोष हो र ? मैले अमेरिका छोरा–छोरी पठाइनँ, छोरा–छोरीलाई ममसँगै बन्दुक बोकाएर जंगल लिएर गएँ । त्यो मेरो दोष हो ?’
भावुक देखिएका दाहालले थपे, ‘म तपाईँसँग न्याय चाहन्छु, केपी ओलीले अत्याचार गर्न खोजे । शान्ति र न्यायका लागि जसले त्याग र बलिदान दियो, यसलाई निमेट गर्ने र अपमान गर्ने काम ओलीले गरेका छन् । छोरा–छोरीलाई गणतन्त्रको आन्दोलनमा लग्नु मेरो दोष हो ? छोरी भएपछि ज्वाइँ हुन्छ । छोराको बुहारी हुन्छ । अनि नाता–नातिनीहरु हुन्छन् । के त्यो मेरो दोष हो ?’
संसद् बैठक बोलाउन सक्छौँ
सभालाई सम्बोधन गर्दै दाहालले प्रतिनिधि सभा भंग नभएको दोहोर्याएका छन् । ओलीले गुण्डागर्दी शैलीमा जे गर्यो त्यहीँ नहुने भन्दै उनले संविधानअनुसार संसद् भंग नभएको दाबी गरे । ‘हाम्रो संसद् विघटन भएको हैन । इतिहासमा ओलीलाई कलंक र तानाशाहको रुपमा नागरिकले चिन्नेछन् ।’








