मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पूर्वलडाकूको भावनामाथि फेरि राजनीति !

  • धनबल राई

काठमाडौं । ‘तपाईँहरुले कुनै चिन्ता लिनुपर्दैन, राजनीतिक रुपमा वास्तविक निकास दिने काम हुन्छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार तत्कालीन माओवादीका पूर्वलडाकूहरुलाई ढाडस दिँदै भने । प्रधानमन्त्री ओलीले वर्तमानमा आफ्ना मुख्य राजनीतिक प्रतिस्पर्धी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति रुष्ट रहेका पूर्वलडाकूहरुलाई बालुवाटारमै बोलाएर भेटेनन् मात्र आफ्नो कित्तामा स्वागतै गरे ।

प्रधानमन्त्री ओलीको सचिवालयले यसलाई सामान्य र नियमित प्रक्रिया भनेपनि यसभित्रको राजनीतिको गन्ध परैसम्म आउँछ ।

माओवादी विद्रोहलाई जहिल्यै कटाक्ष गर्ने ओलीले त्यही विद्रोहमा सामेल लडाकूलाई किन विश्वस्त पार्न खोजिरहेका छन् ? उनीहरुको अभिभावक बन्न चाहेकोजस्तो किन देखिइरहेका छन् ? अनि ओलीले यो सब किन विद्रोहका ‘सुप्रिम कमाण्डर’ ‘प्रचण्ड’सँग कित्ताकाट भएपछि मात्र भन्न आवश्यक ठाने त ? उत्तर सिधा छ कि, उनी प्रचण्डसँग रिसाएकाहरुलाई फकाइरहेका छन् । जसले उनलाई आफ्नो कित्तामा पूर्वमाओवादीहरु धेरै छन् भन्ने देखाउन सजिलो हुनेछ ।

उसो त, रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत नेता आफ्नो पक्षमा लागेपछि हौसिएका प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा भने नै ‘अब उहाँहरु (दाहाल–नेपाल) जनयुद्ध लडेको मान्छे को नै छ र ? नारायणकाजीले कहिल्यै जनयुद्ध लडे र ?’

त्यसो त एमालेको अध्यक्ष हुँदा माओवादीप्रति अति नै नकारात्मक र हेपेर टिप्पणी गर्दै माओवादीका ‘ठेउका’, ‘गुरिल्ला’लगायत सम्बोधन गर्ने ओली आजभोलि नेकपाका लडाकूहरुलाई ‘योद्धा’ भनिरहेका पनि भेटिन्छन् ।

त्यसो त एमालेको अध्यक्ष हुँदा माओवादीप्रति अति नै नकारात्मक र हेपेर टिप्पणी गर्दै माओवादीका ‘ठेउका’, ‘गुरिल्ला’लगायत सम्बोधन गर्ने ओली आजभोलि नेकपाका लडाकूहरुलाई ‘योद्धा’ भनिरहेका पनि भेटिन्छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनिवरी आफू सत्तामा पुगेको तीन बर्ष पुग्न लाग्दासमेत लडाकूहरुलाई सम्झन फुर्सद नपाएका ओली अहिले उनीहरुका साख्यै अभिभावक बन्न खोज्नु र उनीहरुका आँशु पुछिदिउँलाझैँ गर्नुले अनेक प्रश्न जन्माउँछ नै । यहाँनेर यो पनि स्मरण गरौँ कि, ओलीले नेकपा विभाजनपछि जनयुद्ध शब्दलाई दर्जनौं पटक दोहोर्याइरहेका छन् ।

यसो हुँदा समग्रमा ओलीको रणनीति पूर्वलडाकूहरुलाई आकर्षित गरेर आफू बलियो सावित हुनु नै हो ।

यही मेसोमा सरकारले उनीहरुलाई कुनै ‘राहत प्याकेज’ घोषणा गरेमा पनि आश्चर्य मानिहाल्नु पर्दैन । यसले एकातिर राजनीतिक रुपमा उनलाई ओलीलाई थोरै भएपनि बलियो बनाउने छ भने अर्कातिर वर्षौँ सँगै विद्रोहमा सहभागी भएर पनि नेतृत्व अर्थात् प्रचण्डले खास वास्ता नगरेको भनेर चित्त दुखाएका पूर्वलडाकू र उनीहरुको परिवारको ‘सेन्टिमेन्ट्’ उनले पाउनेछन् । यसले प्रचण्डलाई केही भएपनि नैतिक र मनोवैज्ञानिक अप्ठ्यारो बनाउने छ नै ।

राज्य पक्ष र तत्कालीन विद्रोही नेकपा माओबादीबीच शान्ति सम्झौता भएको डेढ दशक पूरा हुन आँटिसक्यो । यसबीचमा सत्य निरुपण तथा मेलमिलापको कामको गति कति धिमा थियो भन्ने पनि देखिएकै हो ।

वर्षेनी फगत एक कर्मकाण्डका रुपमा मनाइने दिवसमा घाइते तथा बेपत्ताका परिवारको विलौनाले आँखा रसाउने गरेकै छन् । कतिपय अझै शरीरमा गोलीका छर्रा बोकेर बाँचिरहेका छन् । तर यी सबै पीर व्यथाप्रति यतिका वर्षसम्म मौनप्रायः रहेका प्रधानमन्त्री ओलीले अहिले राजनीतिक स्वार्थका लागि फेरि पूर्वलडाकूहरुलाई क्षणिक माया देखाएका हुन् भने यो झनै दुर्भाग्य हुनेछ ।

नेताहरुले देखाएको सपना पूरा गर्न ज्यानको बाजी लगाएर लडेको र अहिले त्यही सपनाले तर्साउने गरेको यथार्थ सुनाउने पूर्वलडाकूहरुका समस्या समाधान गर्ने तथा सत्य निरुपण तथा मेलमिलापको बाँकी काम पूरा गराउने विषय कुनै दल विशेष वा नेता विशेषको स्वार्थको विषय बन्नु हुँदैन ।

आफूलाई फाइदा पुग्छ भन्ने आँकलन गरेपछि मात्र कुनै राजनीतिक कदम चाल्नु न्यायसंगत तरिका होइन । यो त स्वार्थी र नेपाली राजनीतिमा वर्षौँदेखि देख्दै भोग्दै आएको एक विकृत चित्र हो । त्यसैले पूर्वलडाकूहरुका समस्या समाधान हुन तर, क्षणिक लोभ देखाएर उनीहरुको भावनामाथि राजनीति गर्ने चतुरपन मात्र नबनोस् ।

प्रतिकृयाहरु
Loading...