‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

काठमाडाैं । सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको बताए ।

मन्त्रिपरिषदबाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने उनले जानकारी दिए । कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतैपनि हरियो वन सखाप नहुनेगरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको पनि मन्त्री आलेले बताउनुभयो । वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठदाउरा प्रचलित कानून बमोजिम प्रक्रिया पुरागरी सदुपयोग, विक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि उनले बताए ।

वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि काठदाउरा कटान मुछान, बिक्री वितरण तथा ओसार पसार सम्बन्धमा प्रदेश वन निर्देशनालय मार्फत् अनुगमन गरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाई अनियमितता भएको पाइए संलग्नलाई कानून अनुरुप कारबाही गरिने पनि उनले स्पष्ट पारे ।

यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने पनि मन्त्री आलेले बताए । विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चित भएपछि मात्रै वन मन्त्रालयले प्रक्रिया अगाडि बढाइने उनकाे भनाइ छ ।

प्रतिक्रिया