सर्वोच्चमा मानहानीका मुद्दा बढे

काठमाडौँ । सर्वोच्च अदालतमा संसद् विघटनबारेको बहस चल्दै गर्दा विचाराधीन विषयमा बोलेको भन्दै मानहानीका मुद्दा दायर हुने क्रम बढेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व सभामुख दमनानाथ ढुँगानाविरुद्ध मानहानीको मुद्दा दायर भएकोमा बुधबार पूर्व चार प्रधानन्यायाधीशहरुविरुद्ध पनि मानहानीको मुद्दा दायर भएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयको विरोध गर्ने पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।

अधिवक्ता धनजीत बस्नेतले मंगलबार सर्वोच्च अदालत प्रशासनमा बुझाएको निबेदन बुधबार दर्ता गरिएको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।

रिट निवेदक बस्नेतले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेकाले उनीहरुविरुद्ध हदैसम्मको सजाय माग गरेका छन् ।

अदालतको अवहेलना गरेको ठहरेमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । चारजना पूर्व प्रधान्यायाधीशले पुस २४ गते संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको दाबी गरेका थिए ।

यस्तै मंगलबार पुर्व सभामुख दमननाथ ढुँगानाविरुद्ध पनि मानहानीको मुद्दा दायर भएको थियो । ढुँगानाले सार्वजनिक कार्यक्रममा न्यायाधीसलाई कुर्सिबाट तान्ने दिन आउन सक्ने चेतावनी दिएको र यसले सर्वोच्च अदालतको मानहानी भएको दाबी गर्दै राजाराम घिमिरेसहितले पूर्व सभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

यसअघि, सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मानहानीका दुईवटा मुद्दा दायर भएका छन् । वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

प्रतिक्रिया