भरतपुर अस्पतालबाट सुरु गरियो कोभिडविरुद्धको खाेप अभियान

चितवन । चितवनमा पनि बुधबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाको भरतपुर सङ्घीय अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले खोप लगाएर कार्यक्रमको सुरुवात गरिएको हो ।

जिल्लामा भरतपुर सङ्घीय अस्पताल, बकुलहर रत्ननगर अस्पताल र माडीको बघौडा अस्पतालबाट खोप लगाउन शुरु गरिएको छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, कोभिडका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताए ।

खोप लगाउँदा कुनै घटनामा भएमा त्यसको व्यवस्थापनका लागि एम्बुलेन्स सहित तीन वटा टोली तयारी अवस्थामा राखिएको तिवारीको भनाइ छ । चितवनमा चार हजार ५०० डोज मात्रै खोप प्राप्त भएको छ । प्राप्त भएको खोपको पाँच प्रतिशत खेर जाने कटाएर करिब चार हजार २०० डोज खोप लगाइने तिवारीको भनाइ छ ।

पहिलो चरणको खोप अभियानमा सरकारी अस्पतालका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले लगाएपछि अन्य मेडिकल कलेज र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई लगाइँदैछ । भरतपुर अस्पतालमा नौ दिनसम्म खोप लगाइने छ भने यहाँ भरतपुर र इच्छाकामना गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप लगाइँदैछ ।

भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले स्वास्थ्यकर्मीहरुले खोप लगाएपछि सर्वसाधारणहरु समेत खोपप्रति विश्वस्त हुन सक्ने बताए ।

भरतपुर अस्पतालबाट भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, रत्ननगरबाट पूर्वी चितवनका चार नगरपालिका तथा माडीमा माडी नगरपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाइने अनपेक्षित घटना व्यवस्थापन समितिका संयोजक डा. युवानीति बसौलाले बताए । पहिलो चरणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिइसकेपछि दोस्रो चरणबाट प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाइने उनले बताए ।

जिल्लामा पहिलो चरणका लागि ६ हजार २०० डोज खोप माग गरिएको थियो । पहिलो चरणमा भरतपुरमा मात्रै ४ हजार, रत्ननगरमा करिब २ हजार ५० तथा माडीमा एक सय ५० डोज खोप आवश्यक भएपनि अहिले उपलब्ध खोप लगाउँदै जाने र अपुग खोप माग गरिएको छ ।

प्रतिक्रिया