नेपालमा कोरोना खोप अभियान सुरु

काठमाडौँ । देशभर कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै बुधबार खोप अभियान उद्घाटन गरेका हुन् ।

अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाइएको थियो । पहिलो दिन आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुनेछ । देशभरका ६६ वटा जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ ।

सरकारले पहिलो चरणमा कोभिड विरुद्व खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मी गरी गरी ४ लाख ३० हजार बढीलाई खोप लगाउँदैछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा लगाउन सुरु गरिएको हो ।

डा. राजभण्डारीले लगाए पहिलो खोप
नेपालमा कोभिड-१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाएका छन् । उनीसँगै डा‍. अनुप बाँस्तोला र डा.रुना झाले पनि कोरोना खोप लगाएका छन् ।

खोप लगाएपछि खुसी लागेको डा. राजभण्डारीले बताए । यो इन्फ्लुएन्जा खोप जस्तै भएकाले डराउनु नपर्ने उनको भनाई थियो । सरुवा रोग नेपालको पहिलो कोभिड अस्पतालका रुपमा सञ्चालित थियो ।

प्रतिक्रिया