राखेप हातामा जिम्न्याष्टिक एकेडेमीको उद्घाटन

काठमाडाैं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा जिम्न्याष्टिक एकेडेमीको उद्घाटन गरिएको छ ।

२०७२ सालको भूकम्पले जीर्ण भएको पहिलेको जिम्न्याष्टिक हललाई भत्काएर पुनः सोही स्थानमा बनाइएको अर्को जिम्न्याष्टिक हल निर्माण गरिएको थियो । त्यही हललाई नेपाल जिम्न्याष्टिक संघले एकेडेमीका रुपमा सञ्चालन गर्न लागेको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एकेडेमीको एक कार्यक्रमबीच मंगलबार उद्घाटन गरे ।

सोही कार्यक्रममा बुधबारदेखि सुरु हुने जिम्न्याष्टिक कोचेस कोर्स तालिमको पनि सदस्य–सचिव सिलवालले नै उद्घाटन गरेका थिए । तालिममा उपत्यकाका २५ प्रशिक्षकको सहभागिता रहेको जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । अन्य जिल्लामा पनि यस प्रकारको तालिम सञ्चालन गरिने महासचिव शर्माले जानकारी दिए ।

सहभागीलाई जिम्न्याष्टिकका मुख्य प्रशिक्षक राजेश्वरमान स्थापित, पूर्णमान वज्राचार्य, निरु दर्शनधारी डंगोल, सजनी मानन्धर र गुने नारायणले सञ्चालन गर्ने छन् । उद्घाटनका अवसरमा भक्तपुर जिल्लाका जिम्न्याष्टिक खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले जिम्न्याष्टिक खेललाई व्यापक बनाउन र खेलाडी उत्पादन गर्न जिल्लामा पनि प्रशिक्षकलाई चलायमान बनाउनु पर्ने धारणा व्यक्त गर्दै देशव्यापी रुपमा खेलकुदलाई चलायमान बनाउन परिषद् लागि परेको बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खेलकुदको नयाँ ऐनले खेल क्षेत्रमा अझ सुशासन कायम गर्ने विश्वास व्यक्त गरे ।

नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान जिम्न्याष्टिकको हल बनाउन भक्तपुरमा जग्गा प्राप्त गर्ने प्रकृया अन्तिम चरणमा रहेको बताउदै त्रिपक्षीय सम्झौता हुन बाँकी रहेको अवगत गराए । उनले प्रशिक्षक र खेलाडीको अपेक्षा पूरा गर्न संघ प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया