पी एम कप क्रिकेटकाे सेमिफाइनल समिकरण पूरा

सशस्त्र प्रहरी बल (एपीएफ) क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा कीर्तिपुर मैदानमा त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराउँदै एपीएफ समूह विजेता बनेको हो । हारपछि आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

एपीएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ भने आर्मीले वाग्मती प्रदेशसँग खेल्नेछ ।

एपीएफ र नेपाल पुलिस क्लवबिचको पहिलो सेमिफाइनल खेल बुधबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता बागमती प्रदेशले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मीसँग खेल्ने छ । दोस्रो सेमिफाइनल विहीबार हुनेछ । दुबै सेमिफाइलका बिजेताबिच उपाधिका लागि शनिबार फाइनल खेल हुनेछ ।

२ सय ४१ रनको लक्ष्य पाएको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो । आर्मीका लागि अनिल मण्डलले सबैभन्दा धेरै ४५ रन बनाए । यस्तै राजेश पुलामीले ३३, रोहित पौडेलले ३०, बिक्रम सोबले २८ र भीम कार्कीले २७ रन बनाए । एपीएफका कमल ऐरीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा २ सय ४० रन बनाएको थियो । एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवास खकुरेलले ३८ सुन्दीप जोराले २८ र कप्तान शरद भेषवाकरले २४ रन बनाए । आर्मीका हरि चौहानले ५ तथा साहब आलमले २ विकेट लिए ।

प्रतिक्रिया