‘ट्रम्प प्रशासनको खोप योजना भद्रगोल र सीमित’

काठमाडौँ । ह्वाइहाउसका एकजना वरिष्‍ठ अधिकारीले ट्रम्प प्रशासनको कोभिड-१९ खोप वितरण कार्य भद्रगोलपूर्ण र निकै सीमित रहेको बताएका छन् । राष्ट्रपति जो बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले सङ्घीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन् ।

गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती १०० दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन् । अमेरिकामा अहिलेसम्म २ करोड पचास लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ४ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ । पछिल्ला केही सातामा त्यहाँ मृत्यु हुनेको सङ्ख्या कुनैदिन चार हजार समेत नाघ्ने गरेको छ ।

आलोचना र अवस्था
एनबीसी न्यूजसँग कुरा गर्दै रोन क्लेनले खोप वितरण कार्य एउटा जटिल प्रक्रिया भएको बताए । उनले भने, ‘जब हामी ह्वाइटहाउसमा आयौँ त्यहाँ खासगरी नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नै गरिएको थिएन ।’ पर्याप्त स्थान नभएका राज्यहरूका लागि सङ्घीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए ।

खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । अमेरिकाको सेन्टर्स फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिवारसम्ममा चार करोड १० लाखको सङ्ख्यामा देशभर खोप वितरण गरिएको छ । तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ ।

गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तीव्रता दिने उल्लेख गरेका थिए । उनले अमेरिकीहरूलाई मास्क लगाउन आग्रह गर्दै मृत्युको सङ्ख्या थप निकै खराब हुनसक्ने बताएका थिए । उनको भनाइ थियो, ‘म स्पष्टसँग भन्न चाहन्छु राम्रो हुनुअगाडि अवस्था खराब रहिरहनेछ ।’ –बीबीसीबाट

प्रतिक्रिया