थिती बसाल्न माग गर्दै वडाध्यक्षद्वारा बोर्ड बैठक बहिस्कार

  • सुमन सुस्केरा

विराटनगर । विराटनगर महानगरपालिकाको बोर्ड बैठक वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले बहिस्कार गरेका छन् । झण्डै ४ महिनापछि बसेको बैठकमा जानकारी नदिइ हतारमा बोर्ड बैठक बोलाएको तथा मेयरले एकलौटी निर्णय गरेको आरोप लगाएको छ ।

बिहान ८ बजे बोलाइएको बोर्ड बैठकमा १६ वटा एजेण्डा प्रस्तुत भएको थियो । एजेण्डाको बारेमा पूर्वजानकारी नै नदिएको उनीहरुको आरोप छ । असन्तुष्टि जनाउने वडाध्यक्षहरु बिनोद बस्नेत, देबेन्द्र खनाल, कुमार पोखरेल, मिनकुमार आचार्य, निश्चल अर्चाल, विश्वनाथ भगत, तिर्थेन्द्र न्यौपानेलगायतका अन्य सदस्यसमेत रहेका छन् ।

बहिस्कार गरेका मध्येका एक वडा अध्यक्षले बैठकमा धेरै एजेण्डा ल्याउने अनी मेयर समय नै नदिने प्रबृति बढेछि बैठक बस्नुको औचित्य नहुने भन्दै बहिस्कार गरिएको बताए । महानगरपालिकाले अबैध रुपमा कर्मचारी नियुक्त गरेको हो । ‘महानगरपालिकाको बोर्ड बैठकमा छलफल नै नभई १८५ जना कर्मचारी मेयरले एकलैटी निर्णय गरेर नियूक्त गरेका छन्’, एक वडाध्यक्षले भनेका छन्, ‘महानगरपालिकालाई आबश्यकता नै नपरि किन नियुक्त गरिएको हो भनेर प्रश्न उठाइएको छ ।’

करिब ६० जना मात्र बोर्ड बैठकमा कुरा राखेर नियुक्त गरिएको भएपनि अन्य नदेखिने गरि नियुक्त गरिएको वडा अध्यक्षहरुको भनाई छ । यसरी नियुक्त गरिएको कर्मचारीको लागि मात्र ६ करोड बार्षिक आर्थिक ब्ययभार महानगरपालिकालाई पर्ने भन्दै वडा अध्यक्षहरु त्यसको बिरोधमा देखिएका हुन् । ‘महानगरपालिका आर्थिक रुपमा कमजोर हुँदै गएको छ, ती वडा अध्यक्षले भने, अहिले तत्काल चेक काट्ने हो भने एक लाख भज्ने अबस्था पनि छैन, यतिका नचाहिँदा कर्मचारी किन नियुक्त गर्नु पर्यो भन्ने हाम्रो प्रश्न हो ?’

विराटनगर महानगरपालिका थितीसम्वत् नचलेको वडा अध्यक्षहरुको निश्कर्ष छ । विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोद बस्नेतले विराटनगर महानगरपालिकामा नभएकोले वडाको कार्यक्रम गर्न समेत नपाएको बताए । ‘बोर्ड बैठक लामो समयसम्म नहुँदा धेरै कामहरु बिषयहरु ओझेलमा पर्ने गरेको छ, बस्नेतले भने, ’बोर्ड बैठक नियमित रुपमा बोलाउनु पर्नेमा नभएको, जतिबेला चाह्यो त्यही बेला मात्र गर्ने जस्ता हेपाहा प्रबृतिको हामीले बिरोध गरेको हो ।’

बोर्ड बैठक नियमित नबस्दा लामो समयपछि एकै पटक बस्दा एकै पटक २० देखि ३० वटा एजेण्डा ल्याउने त्यसमा छलफल नै गर्न नपाउने अबस्था आएको उनको भनाइृ छ । महानगरपालिकालाई थितीसम्वत् चलाउनुपर्छ भन्ने वडाअध्यक्षहरुको मान्यता रहेको बताए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणी पोखरेलले बैठक आज बिहान ८ बजे बोलाईएकोमा महानगरपालिकाको कार्यक्रम भएको कारण एकछिन बसेर स्थगित भएको बताए । ‘भोली दिउँसो २ बजे बस्ने भनेर स्थगित भएको हो, प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, बहिस्कार नै गरेको भन्ने हैन, धेरै एजेण्डा भएको कारण छलफल लम्बिने हुँदा भोली बस्ने गरि स्थगित भएको हो ।’ कर्मचारी बढि राखिएको भन्ने बारेमा आधार र तथ्य नभएको स्पष्ट पारे ।

प्रतिक्रिया