मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि निष्काशित गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको दाहाल–नेपाल पक्षको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अध्यक्षबाट हाम्रो पार्टीले पहिल्यै नै हटाइसकेको थियो’, बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामीले तपाईँलाई साधारण सदस्यबाट पनि किन नहटाउने भनेर स्पष्टीकरण सोध्यौँ । तर, उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन । त्यसपछि हामीले यो कदम चाल्नुपरेको हो ।’

माघ ५ गते दाहाल–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो । तर, ओलीले कुनै जवाफ दिएका थिएनन् ।

प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपहेलना मुद्दा दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहँदा प्रधानमन्त्री ओलीले बहसमा सहभागी वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्तिले सर्वोच्चकै अपहेलना गरेको भन्दै मुद्दा दायर भएको हो ।

ओलीले गत ९ माघमा कार्की बैङ्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेला कार्यक्रममा बाजे वकिल भन्दै अभिव्यक्ति दिएका थिए । ‘प्रधानमन्त्रीले सर्वोच्चमा जारी बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजेजस्ता निन्दायुक्त शब्दको सार्वजनिक रुपमा प्रयोग गरेर र अदालत र कानून व्यवसायीलाई हाँस्यपात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा ४ बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ’, दायर गरेको मुद्दामा भनिएको छ, ‘नेपालको संविधानको धारा २० ले कानून व्यवसायीलाई संरक्षण प्रदान गरेको छ । कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २२ ले कानून व्यवसायीलाई अदालतमा उपस्थित हुने र बहस पैरवी गर्ने अधिकार दिएको छ भने दफा २४ मा कानून व्यवसायीलाई विशेष सुविधा दिएर अदालतमा बोलेको कुरालाई संरक्षण प्रदान गरेको छ ।’

‘संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरु धेरै छन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने मान्छेहरु धेरै रहेको बताएका छन् । आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँगको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘देशमा संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरु धेरै भए’, सम्बोधनको क्रममा ओलीले भनेका छन्, ‘यस्ता व्यक्तिहरु यहाँ धेरै देखिए ।’

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भनेर कराउनेहरु सबै देशविरोधी भएकोसमेत ओलीले टिप्पणी गरेका छन् । ‘प्रतिनिधि सभा विघटन भइसकेको छ’, ओलीले भने, ‘तर, पनि पुनर्स्थापना हुनुपर्छ भनेर भन्नेहरु धेरै छन् । कराएको कराएकै छन् । यस्ता व्यक्तिहरु देशविरोधी, जनविरोधी, लोकतन्त्र विरोधीहरु हुन् ।’

२७० जनामा संक्रमण पुष्टि, मृतक संख्या २ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा देशभर २७० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यस्तै आज (आइतबार) ४०३ कोरोना संक्रमित डिस्चार्ज हुँदा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा १४५ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ३१२ रहेको छ ।

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । संक्रमितमध्ये २ लाख ६४ हजार १३७ जना निको भइसकेका छन् भने मृतक संख्या २ हजार १ पुगेको छ ।

५०१ जनाको केन्द्रीय कमिटीसहित ‘पार्टी एकता अभियान’ घोषणा गर्दै वामदेव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले दुई समूहमा विभाजित पार्टी एकीकरणको अभियान घोषणा गर्ने भएका छन् । माघ १४ गते तय भएको घोषणा कार्यक्रमअघि उक्त अभियानमा जोडिन चाहने नेताहरुको नामावली संकलन भइरहेको छ ।

उक्त एकता अभियानको संयोजक गौतम रहनेछन् । ५०१ जना सदस्यको केन्द्रीय कमिटी बनाइने तयारी भइरहेको गौतम निकट पत्रकार विश्वमणि सुवेदीले जानकारी दिए । उनका अनुसार पार्टी एकता चाहने नेता र कार्यकर्ताहरु राखेर कमिटी निर्माणको काम भइरहेको छ ।

सिद्धार्थ कटेज, धोवीघाट बुधबार बिहान ११ बजे पार्टी एकता अभियान घोषणा हुनेछ । जसले दुवै समूहका शीर्ष नेताहरुलाई भेटेर आपसी मनमुटावमा एकै ठाउँमा रहेर छलफल गर्न दबाब सिर्जना गर्नेछ ।

प्रधानमन्त्रीको टिप्पणीप्रति बारका पूर्वअध्यक्षहरु आक्रोशित
प्रधानमन्त्री केपी शर्मा ओलीले कानून ब्यवसायीलाई ‘अनादर’ गरेकोप्रति नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले ९५ बर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमान गर्ने गरि बोलेको भन्दै एसोसिएसनका पूर्व अध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीको टिप्पणी कानून ब्यवसायीमाथि सत्तापक्षको प्रहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बरिष्ठ अधिवक्ता भण्डारीलाई लक्षित गरि प्रधानमन्त्री ओलीले ‘तमासा देखाउन अदालतमा एकजना बाजेलाई पनि लिएर गएछन्’ भन्ने टिप्पणी गरेका थिए ।

बरिष्ठ अधिवक्ता भण्डारी ६३ बर्षदेखि न्यायको पक्षमा पैरवी गरिरहेका एकजना सम्मानित कानून ब्यवसायी हुन् । उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र गैर संवैधानिक रहेको जिकिर गर्दै सर्वोच्चमा बहस गरेका थिए ।

‘आयोगले विगतका नजीर हेरेर नेकपाभित्रको विवाद चाँडै हल गर्नुपर्छ’
पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे चासो जारी रहेको अवस्थामा निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै यादवले आयोगले सर्वप्रथम निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘देशमा राजनीतिक अवरोध देखिएको छ । निर्वाचनको लागि त वातावरण अनुकुल हुनुपर्छ । एउटै दलभित्र दुई पक्ष भएको यो अवस्थामा आयोग अहिले अप्ठ्यारो अवस्थामा छ ।’

उनले आफूले निर्वाचन सम्पन्न गर्नको लागि पाँच ‘स’ आवश्यक पर्ने कुरा उल्लेख गर्दै आएको सुनाए । उनले भने–‘मैले पाँचवटा ‘स’ भनेको छु । पहिलो कुरा दलहरुबीच समन्वय हुनुपर्छ । दलभित्र समन्वय अत्यन्तै आवश्यक छ । दोस्रो, भनेको सद्भाव हुनुपर्छ दलभित्र । जनताको बीचमा सद्भावना देखाउनुपर्छ । र, तेस्रो सहयोग पनि हुनुपर्छ । पारस्परिक सहयोगको आवश्यक हुन्छ । चौथो सहानुभूति र पाँचौ सहकार्य । यी सबै दलका लागि र निर्वाचनको लागि पनि आवश्यक छ ।’

नेप्सेले सोध्यो एनसीसी बैंकलाई स्पष्टीकरण
नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सले उक्त बैंकको शेयर मूल्य आइतबारको बजारमा अस्वभाविक रुपमा बढेको र खरिदकर्ताको चाप समेत अस्वभाविक देखिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

माघ ८ गतेसम्म स्वाभाविक उतारचढाबका साथ कारोबार हुँदै आएको बैंकको शेयरमा आइतबार अर्थात् ११ माघमा अस्वभाविक रुपमा मूल्य र चाप बढेको थियो । शेयर मूल्यलाई असर पर्ने गरी बैंकले कुनै निर्णय सार्वजनिक गरेको भए सोको जानकारी ३ दिनभित्र दिन नेप्सेले बैंकलाई पत्र पठाएको हो ।

उक्त बैंकको शेयर ८ माघमा प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको आइतबार ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँसम्ममा कारोबार भएको छ । यो वृद्धि झण्डै १० प्रतिशतले भएको हो ।

सावित्राको ह्याट्रिकमा एपीएफको दोस्रो जित
विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । ए पीएफले २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो । विराटनगरले २ खेलमा १ अंक जोडेको छ । विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो । लिगमा आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो र पुलिस ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

रुसमा पुटिनविरुद्ध प्रदर्शन, ३ हजारभन्दा बढी नाभाल्नी समर्थक पक्राउ
रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए । पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए । रुसका एक सय भन्दा बढी शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यार्थीदेखि पाको उमेरका व्यक्तिसम्म सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

प्रतिक्रिया