‘संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरु धेरै छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने मान्छेहरु धेरै रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँगको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘देशमा संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरु धेरै भए’, सम्बोधनको क्रममा ओलीले भनेका छन्, ‘यस्ता व्यक्तिहरु यहाँ धेरै देखिए ।’

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भनेर कराउनेहरु सबै देशविरोधी भएकोसमेत ओलीले टिप्पणी गरेका छन् । ‘प्रतिनिधि सभा विघटन भइसकेको छ’, ओलीले भने, ‘तर, पनि पुनर्स्थापना हुनुपर्छ भनेर भन्नेहरु धेरै छन् । कराएको कराएकै छन् । यस्ता व्यक्तिहरु देशविरोधी, जनविरोधी, लोकतन्त्र विरोधीहरु हुन् ।’

नेपालीका छोरा छोरी ‘खाते’ हुन दिइँदैन
यसैबीच ओलीले कुनै पनि नेपालीका छोराछोरीले खाते हुन नपर्ने बताए । यसका लागि सरकारले तीव्र काम गरिरहेको उल्लेख गर्दे ओलीले यस्तो बताएका हुन् ।

‘हिजो सडकभरी बालबालिका हुन्थे । जसलाई खाते भन्ने गरिन्थ्यो । आज त्यो अवस्था छैन,’ ओलीले भनेका छन्, ‘हामी नेपालीका छोराछोरी खाते हुन दिँदैनौँ । किन भने अभिभावक सरकार छ ।’

उनले नेपालमा सबैले सुरक्षित, सम्मानीत ढंगले बाँच्न पाउनुपर्ने र त्यो नागरिकको मौलिक अधिकार भएको पनि बताए । ‘यसमा भूगोलको, जातको, कुन भाषा बोल्छ त्यसको हिसाब हुँदैन र यसमा कुनै प्रकारको भेदभाव गरिँदैन उनीहरु सबै स्नेह प्राप्त गर्ने हकदार हुन्,’ उनले भने, ‘उनीहरुको उन्नतीप्रगतीको, स्वास्थ्यको, सुनिश्चित भविष्यको हामी ग्यारेन्टी गर्दछौँ ।’

दुईवटै मिर्गौला फेल भएको प्रधानमन्त्री हुनु पनि विश्व रेकर्ड नै हो
यसैबीच ओलीले गलत तत्वहरु आफूसँग भागिरहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई प्रेरित गर्दै ओलीले भनेका आफ्नो दुईवटै मिर्गौला फेल भए पनि आफूले हरेश नखाएको बताए । ‘म पनि अपाङ्गता भएको व्यक्ति नै हुँ’, ओलीले भनेका छन्, ‘मेरो पनि दुईवटै मिर्गौला फेल भएका थिए । मैले अहिले फेरेर बाँचिरहेको छु । तर पनि गलत तत्वहरु मसँग डराइरहेका छन् ।’

दुईवटै मिर्गौला फेल भएको व्यक्ति कुनै पनि देशमा प्रधानमन्त्री नभएको बताउँदै ओलीले यसलाई पनि विश्व रेकर्ड मान्नुपर्ने बताए । उनले भनेका छन्, ‘यो पनि विश्व रेकर्ड नै हो । दुईवटै मिर्गौला फेल भएको प्रधानमन्त्री कहीँ पनि छैन ।’

प्रतिक्रिया