कोरोना खोप आज सातै प्रदेशमा पुर्‍याइने

काठमाडौँ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप सातै प्रदेशमा पुर्‍याइँदैछ । प्रदेशबाटै ७७ वटै जिल्लामा आवश्यकता अनुसार खोप वितरण गर्ने गरी आज सातै प्रदेशमा पुर्‍याउन लागिएको हो ।

ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको गाडी खोप लिएर सातै प्रदेशमा पठाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार सबै तयारीपछि यही १८ गतेसम्ममा लगाउन थालिनेछ ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने प्रवक्ता गौतमको भनाई छ । पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ ।

प्रवक्ता गौतमका अनुसार पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइनेछ । भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया