१९ वर्षीया सृष्टि बनिन् उत्तराखण्डको एकदिने मुख्यमन्त्री

काठमाडौँ । भारत हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी अहिले चर्चामा छिन् । कारण हो- सृष्टि आज एक दिनको लागि उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दैछिन् ।

२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एकदिने मुख्यमन्त्री बनाउन लागिएको हो । सृष्टि उत्तराखण्डकी पहिलो मुख्यमन्त्री हुनेछिन् । यद्यपि, यो पद प्रतीकात्मक हुनेछ ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार सृष्टि बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् । सरकारी अधिकारीहरुले उनलाई आफ्नो मन्त्रालय तथा विभागले गरेका कामको बारेमा जानकारी दिनेछन् र त्यसमा उनले सुझावहरु दिनेछिन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

रुडकीको बीएसएम पीजी कलेजमा बीएससी एग्रिकल्चरकी विद्यार्थी सृष्टिका बुवा गाउँमा सानो पसल चलाउँछन् र आमा सामाजिक कार्यकर्ता हुन् । छोरीलाई दिइएको सम्मानबाट उनीहरु गौरवान्वित छन् ।

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।

प्रतिक्रिया