झोलुंगे पुललाई विश्व रेकर्डमा दर्ता गर्ने प्रक्रिया सुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुंगे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ ।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका-१, रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१, अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुंगे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।

पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात् विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोनाभइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । सुरुमा नेपालकै लामो झोलुंगे पुल (सिंगल स्पान) भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दाबी छ ।

सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंका सिनियर इन्जिनियर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्यांक वेबसाइटमा हेर्दा हालसम्म स्वीट्जरल्यान्डमा खुला प्रकृतिको झुलुंगे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुंगे पुल हुनसक्ने अनुमान छ ।

यद्यपि, विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झोलुंगे पुल थपिएका भए पनि योभन्दा लामो पुल बनेको हालसम्म वेबसाइटहरुमा उल्लेख भएको छैन ।

पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि यसलाई विश्व रेडर्क कायम राख्ने प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘‘माघ ३ गतेपछि बल्ल पुल हाम्रो स्वामित्वमा आयो, पुल हस्तान्तरण नहुँदासम्म आधिकारिकता पाएको थिएन,’’ नगरप्रमुख पौडेलले भने, ‘‘विश्व रेकर्ड कायम राख्नका लागि वेबसाइटमा प्राविधिकहरुको सहयोगमा निवेदन दिएका छौँ, निवेदनको ‘रेस्पोन्स’ आइसकेको छ, तीन महिनादेखि छ महिनाभित्रै पुल हेर्न आउने जवाफसमेत आइसकेको छ ।’’

पौडेलका अनुसार निवेदनपश्चात् विश्व रेकर्डको कार्यालयले छानबिन गर्नेछ । ‘‘हाम्रो पुल विश्वकै लामो ठहर भएमा विश्व रेकर्ड अर्थात गिनिज बुकमा दर्ता हुनेछ,’’ उनले भने । झन्डै १२ करोड रुपैयाँ लागतमा बनेको उक्त पुल १३८ मिटर अग्लो रहेको छ । पुल निर्माण सुरु भएको दुई वर्षमै सकिएको थियो । रासस

प्रतिक्रिया