‘प्रधानमन्त्रीले देशलाई अफगानिस्तानको बाटो लगे’

  • सुमन सुस्केरा

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको निर्णयले देशलाई अफगानिस्तानतर्फ लगेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा नेता पौडेलले देशलाई बर्बादीतर्फ लान खोजिएकोले नेपाली कांग्रेसले यसको प्रतिरक्षा गरेको बताए ।

‘यो मुलुकलाई बर्बादीतर्फ लान हुँदैन । विधानलाई बचाउने न्यायमूर्ति अहिले पनि रहेका छन् भन्ने मैले ठानेको छु’, पौडेलले भनेका छन्, ‘देशलाई विग्रह, हिंसा र अफगानिस्तानको बाटोतर्फ लग्न दिइँदैन ।’ देशकै कार्यकारी प्रधानमन्त्रीले संविधानमा नभएको अधिकारको प्रयोग गरेर संविधानलाई नै लत्याएको समेत नेता पौडेलले बताए । नेता पौडेलले भनेका छन्, ‘भोलि जसले जे गरेपनि हुने भन्ने नजिर बस्दछ ।’

यस्तै नेता पौडेलले अदालतले संविधानको सही व्याख्खा गरेर सही फैसला गर्नेमा आफू ढुक्क रहेको बताए । अदालतको फैसलाको पक्षमा आफू रहेको बताउँदै नेता पौडेलले भनेका छन्, ‘कार्यकारिणी प्रधानमन्त्रीले गरेको निर्णय राजनीतिक निर्णय हो, अदालतले अहिले हेर्ने काम छैन । यो खारेज गरिदिनु भनेर आदेश दिँदै हिँड्नु भएको छ । यसको अर्थ के हो ?’

आफूले पहिल्यैदेखि नै मुलुकलाई अफगानिस्तानको बाटोतर्फ लग्न खोजियो भन्दै आएको र यस्तो गतिमा अघि बढ्ने हो भने मुलुक कहीँ पनि नपुग्ने पौडेलको नभाइ छ । प्रधानमन्त्रीको निर्णय राष्ट्र जोगाउनको लागि भन्दा पनि ध्वस्त पार्नको लागि आएको उनको आरोप छ । ‘प्रधानमन्त्रीले ल्याएको राष्ट्रघाती निर्णयलाई जनताले मान्न जरुरी छैन’, पौडेलले भने, ‘संविधानलाई भत्काउन पाईँदैन, हामी संविधान जोगाउन चाहन्छौँ ।’

सरकारमा जान्नौँ
नेता पौडेलका अनुसार कांग्रेसले चुनाव बहिस्कार भने गर्ने छैन । कांग्रेस मध्यावधि चुनावको पक्षमा नरहेको तर जानै परेमा संविधानअनुसार मात्रै जाने नेता पौडेलको भनाइ थियो । ‘सधैं चुनावको कुरा गरेर मात्रै हुँदैन, जनताको विकासका कुरालाई कहिले पूरा गर्ने ?’, नेता पौडेलको प्रश्न छ ।

यस्तै नेता पौडेलले पार्टीको निर्णय भइसकेकोले कोही पनि सरकारमा नजाने ठोकुवा गरे । ‘पार्टीले निर्णय गरिसकेको छ । कुनै पनि व्यक्तिले कांग्रेस सरकारमा जान्छ भनेर भन्न पाउँदैन’, उनले भनेका छन् ।

प्रदेश नं. १ कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा
पत्रकारहरुको प्रदेश सरकार बारेको जिज्ञासामा पौडेलले प्रतिपक्षीको धर्म निभाउने बताए । संघमा पनि प्रतिपक्षमा रहेर समानान्तर सरकार बनाएर बसेकोले प्रदेशमा पनि प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको पौडेलको भनाइ थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको सन्दर्भमा पौडेलले अहिलेको सरकारको खिलापमा भोट जाने खुलासा गरे ।

प्रतिक्रिया