सिरम इन्स्टिच्युटकाेआगलागीमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति

एजेन्सी । सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) मा बिहीबार लागेको आगलागीका कारण करिब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएको रोयटर्सले जनाएको छ । ‘बिहीबार पुणेस्थित कम्पनीमा आगलागीका कारण एक हजार करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ सीईओ पुनावालाले भनेका छन् ।

साथै सीईओ पुनावालाले आगलागीका कारण कोरोना भाइरसविरुद्धको खोप आपूर्तिमा कुनै असर नपर्ने पनि बताएका छन् । पुनावालाले भने, ‘कोरोना खोप उत्पादनमा कुनै असर पर्दैन । हामीले कम्पनीमा कैयौं औषधि बनाउँछौं । तर बीसीजी खोपको आपूर्ति भने प्रभावित हुन सक्छ । यस घटनाले हामीलाई ठूलो आर्थिक क्षति पुगेको छ ।’

आगलागीमा परी कम्पनीमा कार्यरत ५ जना कर्मचारीको मृत्युसमेत भएको थियो । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ ।

भारत सरकारले उक्त कम्पनीले बनाएकै कोभिसिल्ड खोपको १० लाख डोज नेपाल सरकारलाई उपलब्ध गराएको छ । डोजको संख्याका हिसाबले एसआईआई विश्वकै ठूलो खोप निर्माता कम्पनी हो ।

प्रतिक्रिया