नागरिक स्टक डिलरलाई धितोपत्र व्यापार गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएको छ । स्टक डिलर नागरिक लगानी कोषको सहायक कम्पनी हो ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई खुला गर्ने नीतिअन्तर्गत स्टक डिलर कम्पनीलाई यस्तो अनुमति दिएको जनाएको छ । नागरिक लगानी कोष जस्तो छुट्टै ऐनद्वारा नियमन भइरहेको संस्थालाई धितोपत्र बजारमा सामूहिक लगानी गर्न प्रोत्साहन गर्न बोर्डले गत फागनु १ बाट लागू हुने गरी धितोपत्र व्यवसायी नियमावली २०४६ मा संशोधन गरेको थियो ।

सरकारको बजेट वक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने उल्लेख गरिएको थियो । यसले नेपालको धितोपत्र बजारमा लागनीकर्ताको प्रवेशलाई बढाउने, पूँजी बजारको विकासमा सघाउने अपेक्षा बोर्डले गरेको जनाएको छ ।

स–साना लगानीकर्ताको धेरै रहेकाले त्यस्ता लगानीकर्ताको सानो पूँजीलाई डिलरले सूझबुझपूर्ण तरिकाले गर्ने लगानीले साना लगानीकर्तालाई आर्थिक लाभ हुने विश्वास बोर्डले व्यक्त गरेको छ ।

प्रतिक्रिया