खैरहनीमा घरमा हुने सुत्केरी शुन्य बनाईँदै

चितवन । खैरहनी नगरपालिकाले घरमा हुने सुत्केरी शुन्य बनाउने लक्ष्यका साथ सचेतनामुलक कार्यक्रम गरेको छ ।

नगरमा अझै पनि फाट्टफुट्ट रुपमा घरमै सुत्केरी भइरहेका छन् । यो अवस्थालाई शुन्यमा पुर्याएर स्वास्थ्य संस्थामै सुत्केरी गराउन नगरका प्रत्येक वडाहरुमा सचेतनामुलक कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिए । गत वर्ष ४ वटा वडा तथा चालु आर्थिक वर्षमा बाँकी ९ वटा वडामा सचेतनामुलक कार्यक्रम गरिएको अधिकारीले बताए ।

प्रतिनिधिमुलक रुपमा टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालालाई उपस्थित गराएर कार्यक्रम गरिएको थियो । पुष २३ गतेदेखि माघ ८ गते सम्म वडास्तरमा कार्यक्रम भएका थिए । उनीहरुलाई गर्भावस्था, सुत्केरी अवस्था, सुत्केरी अवस्थामा खतराका चिन्ह तथा लक्षणहरु, नवजात शिशु स्याहार, सुनौलो हजार दिनको महत्व लगायत विषयमा शाखा प्रमुख अधिकारी, उपप्रमुख रुद्र सुवेदी र सामाजिक नर्सिङ निरीक्षक पुजा गिरिले सहजीकरण गरेका थिए ।

खैरहनी नगरपालिकामा चालु आर्थिक वर्षको हालसम्म ३ जनाको घरमै सुत्केरी भएको तथ्यांक छ । गत वर्ष भने पाँच जना महिलाले घरमै वच्चा जन्माएका थिए । स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार विषेशगरि विपन्न, दलित, मुसहर समुदायलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन सचेतना आवश्यक छ ।

सरकारले सुत्केरी पश्चात गर्भवती प्रोत्साहन भत्ता, यातायात खर्च, जटिल प्रकृति र अप्रेशनमा नि:शुल्क, नवजात शिशुको उपचार निशुल्क गर्नुका साथै गर्भ जाँचको व्यवस्था, आवश्यक खोप र औषधी समेत नि:शुल्क गरेको छ । नेपाल सरकारले ९५ प्रतिशत संस्थागत सुत्केरी गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया