प्रदर्शनमा भेटिएका ७ वर्षीय सुप्रिम भन्छन् : प्रधानमन्त्रीले बेठीक गरे [भिडिओसहित]

  • धनबल राई

काठमाडौं । शुक्रबार मध्याह्न १२ बजेको समय । रत्नपार्कको आकाशे पुलमुनि हजारौंको संख्यामा जम्मा भएका मान्छेहरुको भीड । त्यही भीडभित्र सात वर्षीय बालक भेटिए । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको नेकपाको  विराेध प्रदर्शनमा सहभागी हुन पोखराबाट काठमाडौं आएका ती बालक सम्भवतः प्रदर्शनमा सहभागीमध्येकै सानो उमेरको हुँदा हुन् ।

‘क्यामेरा होल्ड’ गरिरहेका सञ्चारकर्मीलाई देखेपछि कक्षा दुईमा पढ्ने  ती बालक सुप्रिम आचार्यले सूर्यअङ्कित झण्डा उचाल्दै नारा लगाउन थाले । ‘केपी ओली, मुर्दावाद ! केपी ओली मुर्दावाद !’, सुप्रिमको थप नारा थियो, ‘नराम्रो गर्न पाइँदैन ।’

हेर्दा सानै भए पनि सुप्रिमले छेउछाउमा जम्मा भएका मान्छेहरुलाई छक्कै पार्ने खुबी चाहिँ राख्दारहेछन् । सञ्चारकर्मीले तेर्स्याएका क्यामेरा देखेर झनै हौसिएका सुप्रिमले भने, ‘कानून मिच्न पाइँदैन ।’ बुबासँग पोखरादेखि काठमाडौंसम्म आएको बताउने सुप्रिमले थप भने, ‘ कानून मिचिएपछि विरोध गर्न काठमाडौं आएको नि ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो काम गरेको औंल्याएका सुप्रिमले भने, ‘ठूलो भएपछि प्रधानमन्त्री बन्छु । अनि राम्रो काम गर्नेछु । नराम्रो काम कहिल्यै गर्दिनँ ।’

के बुझेर यसरी जनप्रदर्शनमा आएको ? भन्ने प्रश्नमा सुप्रिमको जवाफ छ, ‘प्रधानमन्त्रीको कारणले हामी जनताले दुःख पायौँ । यस्तो कुराको हामीले विरोध गर्नुपर्छ । त्यसैले म त कानूनको रक्षा गर्न बाबासँग काठमाडौं आएको।’

उनका बुबाले सुप्रिम आफैँ काठमाडौं जाने भनेर आएको जानकारी दिए । ‘छोराले आफैँ जान्छु भन्यो । त्यसैले लिएर आएको हो’, सुप्रिमको बुबाले भने । उनका बुबाका अनुसार सुप्रिमले राजनीतिक विषयमा खुबै चासो राख्ने गर्दछन् ।

प्रतिक्रिया