काेभिडविरूद्धको खोप बनाइरहेकाे सेरम इन्स्टिच्युटमा आगलागी

काठमाडाैं । काेभिड १९ विरूद्धको खोप उत्पादन गरिरहेकाे भारतकाे पुनेस्थित सेरम इन्स्टिच्युटमा आगलागी भएकाे छ ।

सेरम इन्स्टिच्युट अफ इन्डियाकाे चाैँथाे र पाँचाैँ फ्लाेरमा आगलागी भएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

अहिले आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे छ । पानी लिएर १० वटा दमकल पुगिसकेका छन् । धुवाँ चारैतिर फैलिएकाे छ भने भवन पुरै खाली गरिएकाे त्यहाँका प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार त्यहाँभित्र फसेका चारमध्ये तीन जनालाई बाहिर निकालिसकिएकाे छ । आगलागीको कारण खुल्न बाँकी छ ।

भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन कोविशिल्ड विकास गर्दैछ । भ्याक्सिन बनाउने याे विश्वकै ठुलाे कम्पनी हाे । भारत मात्र होइन, अन्य धेरै देशहरू पनि खाेपका लागि यस कम्पनीमा निर्भर छन् ।

प्रतिक्रिया