खैरहनीमा ६ महिनामा ६ करोड राजस्व संकलन

  • ध्रुवराज खनाल

चितवन । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ५० प्रतिशत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को पुष मसान्तसम्म ६ करोड ८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए ।

यो राजस्व संकलन गत वर्षको पुष मसान्त सम्मको तुलनामा १ करोड २ लाख बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को पुष मसान्त सम्म ४ करोड २६ लाख रुपैयाँ संकलन भएको थियो । गत आर्थिक वर्षमा भने ११८ प्रतिशत राजस्व संकलन भएको थियो । गत वर्ष ९ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । चालु आर्थिक वर्षमा भने १२ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड ८ लाख ४१ हजार रुपैया संकलन भएको नगरपालिकाका उपमेयर एवम् राजस्व परामर्श समिति संयोजक सुनिता थपलियाले जानकारी दिइन् । जसमध्ये ९३ लाख ९६ हजार रुपैयाँ भने लागत सहभागीताको हो । यो अवधिमा सवैभन्दा धेरै घरजग्गा रजिष्ट्रेसनबाट २ करोड १७ लाख रुपैया संकलन भएको छ ।

त्यस्तै सम्पती करबाट १ करोड २१ लाख रुपैयाँ,व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ५२ लाख ५ हजार रुपैयाँ संकलन भएको उपमेयर थपलियाले बताइन् । यसैगरि सिफारिस दस्तुरबाट ३४ लाख ४६ हजार रुपैयाँ, घरवहाल करबाट २५ लाख ९४ हजार रुपैयाँ, नक्सापास दस्तुरबाट १७ लाख ४ हजार रुपैयाँ, वहाल विटौरी करबाट ३ लाख ९६ हजार, प्राकृतिक श्रोतको बाँडफाँड भई प्राप्त हुने आम्दानीमा ७ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व संकलन हुने खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए ।

उद्योगी व्यवसायी, नगरका कर्मचारी लगायत सम्पूर्ण नगरवासीको सहयोगकै कारण हालसम्म लक्ष्य भन्दा बढी राजस्व संकलन भईरहेकाले यस नगरपालिका आन्तरिक स्राेतबाट सक्षम हुने मेयर चौधरीको भनाइ छ ।

प्रतिक्रिया