आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सुमा जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरेको छ ।

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले जितलाई प्रशंसा पत्रसहित १ सय ५० अमेरिकी डलर एक कार्यक्रमबीच हस्तान्तरण गरे । सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । मन्त्री तामाङले लामालाई प्रशंसा पत्रसहित १ सय अमेरिकी डलर प्रदान गरे ।

त्यस्तै आईओएफटीसी हेल्प डेस्क टिम नेपाललाई पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मान गरियो । संयोजक रामचन्द्र ब्याञ्जनकार तथा सदस्यहरु रजिन सिंह, निरोज गौतम, अर्जुन महर्जन र नमिका मोक्तान सम्मानित भए । अनुशासित टिम नेपाल प्रहरीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मन्त्री तामाङले खेलकुद र खेलाडीको हितका लागि मन्त्रालय सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । निर्णायक लामाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दो र तेक्वान्दो खेलाडीप्रति आईओएफटीसीका संस्थापक दिवाकर महर्जनले गरेको योगदानको प्रशंसा गरे ।

आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बनेको थियो । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्यसहित उपविजेता भएको थियो । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आईओएफटीसीले आयोजक गर्ने मुख्य प्रतियोगिता इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप ९आईओएफटीसी० विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ ले गर्दा स्थगित भएपछि आईओएफटीसीले अनलाइन प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्कणको अनलाइन प्रतियोगिता गत जुनमा भएको थियो ।

गत मे पहिलो साता अमेरिकाको मिचिगनमा आईओएफटीसीको १३ औं संस्करण हुने तालिका थियो । यसअघि सम्पन्न १२ संस्करण मध्ये ५ संस्करण अमेरिका र ४ संस्करण नेपालमा भएको थियो । बाँकी १–१ संस्करण हङकङ, भारत र लन्डनमा भएका थिए ।

प्रतिक्रिया