काठमाडौँ विश्वविद्यालयको नेतृत्व दोश्रो पुस्तामा

काठमाडौँ । काठमाडौँ  विश्वविद्यालय (केयु) को उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. थापालाई नयाँ कुलपति नियुक्त गरेको सूचना विश्वविद्यालयमा आएको तर औपचारिक पत्र भने आउन बाँकी नै रहेको विश्वविद्यालयका सूचना प्रमुख तथा प्रवक्ता हेमराज काफ्लेले मकालु खबरलाई जानकारी दिए ।

उपकुलपति छनोटका लागि विश्वविद्यालयले गठन गरेको समितिले पहिलो नम्बरमा वर्तमान उपकुलपति प्रा. रामकण्ठ माकजु, दोश्रो नम्बरमा थापा र तेश्रो नम्बरमा प्रा. बालचन्द्र लुईटेलको नाम सिफारिस गरेको थियो ।

उपकुलपति चयन गर्ने समितिमा संरक्षण समितिका अध्यक्ष र संस्थापक उपकुलपति सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले यसपटक उपकुलपतिका लागि इच्छुकहरुको दरखास्त आह्वान गरेको थियो । उपकुलपति बन्न अरु विश्वविद्यालयका प्राध्यापकहरुको पनि आवेदन परेको भएपनि काठमाडौँ विश्वविद्यालयकै तीनजना प्राध्यापकलाई सिफारिस गरेको थियो । अहिलेका उपकुलपति प्रा. डा. माकजुको कार्यकाल बुधबारसम्म रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

थापा काठमाडौं विश्वविद्यालयको तेश्रो उपकुलपति बनेका छन् । यसअघि संस्थापक उपकुलपति प्रा. सुरेशराज शर्माले ६ कार्यकाल पूरा गरे भने माकजुले दोश्रो कार्यकाल बुधबारबाट पूरा हुँदैछ ।

थापा उपकुलपति नियुक्त भएसँगै विश्वविद्यालयको नेतृत्व संस्थापक पुस्ताबाट दोश्रो पुस्तामा हस्तान्तरण भएको छ ।

विश्वविद्यालयका पुर्व रजिस्ट्रार तथा स्कुल अफ इन्जिनियरिङ्गका पुर्व डीन समेत रहेका थापा विश्वविद्यालयले इन्जिनियरिङ्ग संकाय शुरु गरेको बर्ष सन् १९९४ देखि नै आवद्ध छन् ।

प्रतिक्रिया