बिदाइ सम्बोधनमा ट्रम्पले भने- ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

काठमाडौं । आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिए ।

‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने । ‘हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ ।’ ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरेका छन् ।

आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै सोचेको भन्दा धेरै काम गरेको उनको दाबी छ । उनले भने, ‘हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो गर्‍यौँ र अझ धेरै गर्‍यौँ । सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गर्‍यौँ ।’ उनले आफ्नो एजेन्डाको बचाउ गर्दै भने, ‘हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो ।’

उनले आफूहरुले आफ्ना सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको भन्दै बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गरेको दाबी पनि गरेका छन् । ‘खासगरि कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु,’ उनले भने ।

उनले आफ्ना समर्थकले संसद भवनमा गरेको हमलाको पनि निन्दा गरे र भने- ‘राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चीजमाथिको आक्रमण हो । त्यसलाई कहिल्यै पनि सहन सकिन्न ।’ ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताए । ‘म आज नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ,’ ट्रम्पले भने । –एजेन्सी

प्रतिक्रिया