खैरो हेराेईनसहित आठ जना पक्राउ

विराटनगर । झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हेराेईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन् । मोरङ रतुवामाई नगरपालिका –४ आमबारीमा दुई जना खैरो हिरोईनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रतुवामाई २ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् । उनीहरुको साथबाट १२६ ग्राम १४ मिलिग्राम खैरो हिरोईन ब्राउन सुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । धरान उप महानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा पक्राउ परेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ। यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका–४ का २२ वर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यस्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ वर्षीय रमेश राजवंशीलाई पनि लागु औषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी बिपिन रेग्मीले जानकारी दिए । पक्राउ परेका आठै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया