मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

कोभिडले थलिएका पर्यटन व्यवसायीलाई सरकारले सहयोग गर्ने
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

पर्यटन र होटल व्यवसायका प्रतिनिधि सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।

बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढन् र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए ।

कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास उनले व्यक्त गरे । ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशील छौं,’ उनले भने, ‘तपाईँ अघि बढ्नुहोस्, सरकार साथमा छ ।’ उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।

३४८ मा संक्रमण, ४४१ जना डिस्चार्ज, ४ को मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

यस्तै ३४८ जनामा कोरोना पुष्टि हुँदा ४४१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९० जना छन् । सक्रिय संक्रमित संख्या ३ हजार ७६४ रहेको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । संक्रमितमध्ये २ लाख ६२ हजार २५९ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९६९ पुगेको छ ।

काठमाडौं–पोखरा रात्रिकालीन पर्यटक बस शुरु
काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुवात भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो ।

कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौं(पोखरा रात्रिकालीन बससेवा शुरु गरेको हो । काठमाडौंको बौद्धबाट साँझ ६.३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७.३० बजे मात्र काठमाडौंको लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए ।

मुख्य(मुख्य पर्यटकीय स्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बस सञ्चालन गरेको उनको भनाइ छ । प्रालिले यसअघि नै काठमाडौं–जनकपुर, काठमाडौं–सुनौली र काठमाडौं–लुम्बिनी रात्रिकालीन पर्यटकीय बस सञ्चालन गरिसकेको छ ।

सुनसरीमा माईक्रोबस दुर्घटना, तीनजनाको मृत्यु
सुनसरीको दुहबीमा माईक्रोबस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठकाअनुसार मृत्यु हुनेमा सप्तरीको राजविराज १ को अन्दाजी २२ वर्षीय शंकर यादव र सुनसरी ईनरुवा ३ का अन्दाजी वर्ष ४४ का बिर्ख मन्डल छन् । एकजनाको भने नाम खुल्न बाँकी छ ।

घाइते हुनेमा विराटनगर १४ का जयनारायण यादव, सप्तरीको मंन्सापुर न.पा. हनुमाननगरका ईन्द्रमला देवी, राजविराज न।पा। ७ का निरज यादव, सुरेश मन्डल, सुनसरी ईनरुवा ८ गणेशपुरका चन्द्र मेहता, भोक्राहा नर्सिङ ३ का प्रशान्त यादव, प्रकाशपुर १० का भरत यादव छन् । उनीहरुको विराटनगर अस्पताल र दुहबीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोबससँग को।३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

प्रदेश १ मा दलहरु आन्तरिक रणनीति बनाउँदै
प्रदेशसभाको अधिवेशन शुरु हुनै लाग्दा प्रदेश १ मा दलहरुले आन्तरिक तयारी थालेका छन् । बुधबारबाट शुरु हुने प्रदेशसभा बैठकमा कसरि अघि बढ्ने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको प्रदेश संसदीय दलको बैठक मंगलबार शुरु भएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव लगायत विषयमा कसरी अघि बढ्ने भन्ने धारणा तय गर्न बैठक शुरु भएको कांग्रेसका नेताहरुले बताएका छन् । राईविरुद्धको अविश्वास प्रस्तावका लागि कांग्रेसको भूमिका महत्वपूर्ण भएकाले नेकपाको ओली पक्ष तथा दाहाल नेपाल पक्षले कांग्रेसको साथ खोजेका छन् ।

कांग्रेस सामु प्रतिपक्षमै बस्ने कि सरकारमा जाने भन्ने विकल्प छ । कांग्रेस नेताहरुले मूख्यमन्त्री पाए सरकारमा जाने अरु मन्त्रालयमा मात्र लिएर नेकपा नेतृत्वको सरकारमा जान नहुने पक्षमा धेरैजसो सांसद रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । यसका लागि पार्टीको केन्द्रिय निर्देशन पनि पर्खिरहेको संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

हिटरबाट आगो लाग्दा कलंकीमा वृद्धको मृत्यु
काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । राति हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर मृत्यु भएको हो ।

कालिमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहराका अनुसार आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेको अवस्थामा शव भेटिएको थियो । परिवारका सदस्यले जलेको गन्ध आएपछि मात्रै आगलागी भएको थाहा पाएका थिए । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

बाल विवाह गर्ने बेहुलासहित ४ जना पक्राउ
सप्तरीमा बालबिवाह गराउने चार जना पक्राउ परेका छन् । जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम टेस्टमा गजब प्रदर्शनपछि भारतलाई शृँखला
अष्ट्रेलियासंगको चार खेलको टेस्ट शृँखला भारतले जितेको छ । अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार सकिएको अन्तिम तथा निर्णायक टेस्टमा ३ विकेटको जीत हात पार्दै भारतले शृँखला २–१ ले आफ्नो पक्षमा बनाएको हो ।

एक दिनको खेल बाँकी हुँदा तेश्रो टेस्टमा भारतले ३ सय २८ रनको लक्ष्य पाएको थियो । चुनौतिपूर्ण ठानिएको लक्ष्य भारतले ७ विकेट गुमाएर पुरा गर्दै शृँखला आफ्नो बनायो । भारतका लागि सुबम गिलले ९१ रन बनाए भने ऋषब पन्त ८९ रनमा अविजित रहे । यस्तै ,चेतेश्वर पुजाराले ५६ र कप्तान अजिन्का रहानेले २४ रन बनाए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिएपनि त्यसले भारतको जीत रोक्न सकेन । दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५ र डेभिड वार्नरले ४८ रन बनाएपनि अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएको थियो ।

भारतका मोहमद सिराजले ५ र सार्दुल ठाकुरले ४ विकेट लिए ।
भारतले पहिलो इनिङ्समा ३ सय ३६ र अष्ट्रेलियाले ३ सय ६९ रन बनाएका थिए । शृँखलाको पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । तर, दोस्रो टेस्टमा भारत लयमा फर्किँदै ८ विकेटको जीत हात पारेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएपछि चौथो टेस्ट निर्णाय बनेको थियो ।

ट्रम्पको आदेशका बाबजुद पनि यात्रा प्रतिबन्ध लागू रहने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका प्रवक्ताले अमेरिका युके, यूरोपीयन यूनियनका केही देश र ब्राजिलबाट आउने यात्रुहरूमा प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि यात्रा प्रतिबन्ध हटाउन आदेश दिएका थिए । तर सोमबार ह्वाइट हाउसले एक निर्देशन जारी गर्दै यूके, यूरोपियन यूनियनका केही देशहरूका साथै ब्राजिलबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध जो बाइडेनले राष्ट्रपति पद सम्हालेको ६ दिनपछि अर्थात् २६ तारिखसम्म नहट्ने जानकारी गराएको छ ।

यद्यपी बाइडेनका प्रवक्ताले भने कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढिरहेका बेला प्रतिबन्ध हटाउन उचित नहुने बताएका छन् । र यो संक्रमण रोक्नका लागि अन्तर्राष्ट्रिय यात्रासँग जोडिएको यात्रा आदेशबारे पुनर्विचार गर्ने तयारी भएको समेत उनले जानकारी दिए ।

अमेरिकाले गत मार्चबाट यूरोपियन मुलुकहरूबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो भने मे मा ब्राजिलबाट आउनेहरूलाई प्रतिबन्ध लगाएको थियो । ट्रम्पको आदेश अनुसार २६ तारिखमा प्रतिबन्ध हट्नुपर्ने भएता पनि कोरोनाको संक्रमणकालिन अवस्थामा यो प्रतिबन्ध अझै लम्बिन सक्छ ।

प्रतिक्रिया