उद्योग वाणिज्य महासंघ बागमतीलाई हेटौंडा उपमहानगरले २ कट्ठा जग्गा दिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश च्याप्टरलाई हेटौंडा उपमहानगरपालिका कार्यालयले कम्तिमा २ कट्ठा जग्गा उपलब्ध गराउने भएको छ । महासंघ बागमती प्रदेश शाखाका अनुसार महानगरपालिकाका मेयरले च्याप्टरको सचिवालय भवन निर्माणका लागि कम्तिमा २ कट्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उपमहानगरले दिने जग्गामा भवन निर्माणको तयारी अघि बढाउने महासंघ बागमतीले निर्णय गरेको छ । उक्त भवन नबन्दासम्म प्रदेश च्याप्टरको सचिवालय हेटौंडा उद्योग वाणिज्य महासंघकै सचिवालय भएको भवनमा राख्ने निर्णय समेत गरेको छ ।

प्रदेश कार्यकारिणी समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा हेटौंडामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सचिवालय हेर्ने जिम्मा कार्यकारिणी सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई दिने निर्णय गरेको छ । त्यस्तै, गुर्खा इन्काउन्टर प्रालिका सञ्चालक प्रतिमा भट्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, धादिङ उवासंघका अध्यक्ष बोधनाथ दुवाडी र उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष गेल्बु शेर्पालाई कार्यकारिणी सदस्य पदमा मनोनयन गरेको छ ।

बैठकले, कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न १३ ओटा उपसमितिहरु गठन गरेको छ । सीप तथा तालिम, राजस्व, मेला महोत्सव तथा प्रदर्शनी, घरेलु तथा साना उद्योग ,सचिवालय व्यवस्थापन, सूचना सञ्चार प्रविधि तथा प्रकाशन, वाणिज्य तथा आपूर्ति, उद्योग समिति रोजगारदाता, महिला विकास, यातायात तथा पारवहन, कृषि विकास, र पर्यटन समिति गठन गरेको हो ।

कार्यकारिणी समितिको बैठकले बागमती प्रदेशभित्र उद्योग व्यवसायको विस्तार, व्यवसायिक हक हित संरक्षण तथा व्यवसायिक क्रियाकलापको प्रवद्र्धन लगायतमा आवश्यक कार्यका लागि प्रदेश च्याप्टरलाई सक्रिय रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया