प्रदेश १ मा दलहरु आन्तरिक रणनीति बनाउँदै

विराटनगर । प्रदेशसभाको अधिवेशन शुरु हुनै लाग्दा प्रदेश १ मा दलहरुले आन्तरिक तयारी थालेका छन् । बुधबारबाट शुरु हुने प्रदेशसभा बैठकमा कसरि अघि बढ्ने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको प्रदेश संसदीय दलको बैठक मंगलबार शुरु भएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव लगायत विषयमा कसरी अघि बढ्ने भन्ने धारणा तय गर्न बैठक शुरु भएको कांग्रेसका नेताहरुले बताएका छन् । राईविरुद्धको अविश्वास प्रस्तावका लागि कांग्रेसको भूमिका महत्वपूर्ण भएकाले नेकपाको ओली पक्ष तथा दाहाल नेपाल पक्षले कांग्रेसको साथ खोजेका छन् ।

कांग्रेस सामु प्रतिपक्षमै बस्ने कि सरकारमा जाने भन्ने विकल्प छ । कांग्रेस नेताहरुले मूख्यमन्त्री पाए सरकारमा जाने अरु मन्त्रालयमा मात्र लिएर नेकपा नेतृत्वको सरकारमा जान नहुने पक्षमा धेरैजसो सांसद रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । यसका लागि पार्टीको केन्द्रिय निर्देशन पनि पर्खिरहेको संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

यस्तै, नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलको बैठक पनि मंगलबार बस्दैछ । संसदीय दलको कार्यालय तीनपैनीमा बस्ने बैठकको मू्ख्य एजेण्डा मूख्यमन्त्री राईविरुद्धको प्रस्ताब पारित गराउन बहुमत कसरी जुटाउने भन्ने रहेको नेताहरुले बताएका छन् । अविश्वासको प्रस्तावमा समर्थन जनाएका मध्ये अहिलेसम्म पाँचजना सांसदले समर्थन फिर्ता लिएपछि प्रस्ताव पारित गर्न समस्या परेको छ । यसका लागि कांग्रेस र संघीय समाजबादी पार्टीसँग पनि छलफल थालिएको यो पक्षका नेताहरुले बताएका छन् ।

ओली पक्षको संसदीय दलको बैठक भने बुधबार मात्र बस्ने तयारी छ । प्रदेश सभाको अधिवेशन बुधबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया