नेकपा विभाजनको प्रभाव पत्रकारमा पनि, छुट्टाछुट्टै भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव प्रेस संगठनमा पनि देखिएको छ । ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजित भएसँगै नेकपा निकट प्रेस संगठनमा पनि विभाजन देखिएको हो ।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षीय पत्रकारहरुले प्रेस संगठनको दोस्रो राष्ट्रिय भेला भन्दै छुट्टा-छुट्टै मितिमा कार्यक्रम आयोजना गरेका छन् । प्रचण्ड नेपाल पक्षीय पत्रकारले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भेला बोलाएका छन् भने ओली पक्षीयले विहिबारबा लागि भेला बोलाएका हुन् ।

प्रचण्ड-नेपाल पक्षीय पत्रकारले प्रतिनिधि सभा विघटनविरुद्ध नयाँ नारा समेत दिएका छन् । ‘प्रतिगमनविरुद्ध सञ्चारकर्मीको सामूहिक अभियान’का रुपमा भेला आयोजना गरिएको उनीहरुको तर्क छ ।

यस्तै प्रेस संगठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले दोस्रो राष्ट्रिय भेला माघ ८ गते (विहिबार) काठमाडौँमा गर्ने निर्णय गरेको थियो । तर संगठन नै विभाजन गर्ने गरी एक समूहले आजै भेला आयोजना गरेको सुन्नमा आएको सहसंयोजक बस्नेतले बताए ।

उनका अनुसार महासचिव र सहसंयोजकको सहमतिमै भेला आयोजना गरिएको हो । ‘संयोजकसहितका केहि पत्रकारले आजै भेला गर्दैछन्, यो सरासर विधान विपरित छ,’ उनले भने, ‘संगठनको आधिकारीक दोस्रो राष्ट्रिय भेला माघ ८ गते नै आयोजना गर्छौं ।’

प्रतिक्रिया