जेष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार

काठमाडौं । युनेस्कोले जेष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ । विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कार मध्य नेपालको सो संस्थाले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो ।

सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यति ठुलो राशीको पुरस्कार पाउनु गौरवको विषय भएको बताए। उनले भने, ‘जेष्ठ नागरिकको शिक्षामा सहयोग पुर्याउन एजिङले गरेको योगदान महत्वपुर्ण छ । यो नेपालकै लागि गौरवको विषय हो । उनले जेष्ठ नागरिकको शिक्षामा मन्त्रालयले थप योजना बनाएर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिश्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदना महत्वपूर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले नेपालको शान बढेको बताए। फरक प्रसंगमा उनले भने,‘युनेस्को नेपालले शिक्षामा थप सहयोग गरी अघि बढ्नेछौँ ।’ उनले शिक्षा बुझेको मन्त्रीको आगमनले मन्त्रालय प्रभावकारी रुपमा अघि बढ्ने बताए । कार्यक्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले पुरस्कृत संस्थाले गरेको योगदानको प्रसंसा गर्दै सरकारले थप सहयोग गर्ने बताए।

पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टीमले गरेको अथक प्रयास र मेहेतनको कारण विश्व चर्चित पुरस्कार पाउन सफल भएको बताए। उनले भने,‘यसले गर्दा सबै जेष्ठ नागरिक खुसी भएका छन् । संस्थाले लामो समयदेखि जेष्ठ नागरिक आधारभुत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । युनेस्कोले दिएको यो पुरस्कार जेष्ठ नागरिक शिक्षाको पहिलो पुरस्कार हो ।’

युनेस्को मुख्यालयमा भौतिक उपस्थितिमै आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिड–१९ को कारण भर्चुअल रुपमा सम्पन्न भएको थियो । पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कारको स्थापना सन् १९८९ मा भएको हो ।

युनेस्को मुख्यालयले साक्षरताका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरुलाई बर्सेनी किङ् सेजोङ् र कन्फ्युसियस पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रमा युनेस्को नेपालमा उपमहासचिव डा. बाबुराम अधिकारीले पुरस्कारको बारेमा जानकारी गराएका थिए ।

एजिङ् नेपाल नामक संस्थाले जेष्ठ नागरिक आधारभूत शिक्षा पाठ्यक्रमसमेत तयार गरी जेष्ठ नागरिकलाई साक्षर बनाउँदै आएको छ । संस्थाले बूढानीलकण्ठ, गोकर्णेश्वर लगायत स्थानमा अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हालसम्म १ सय ८० जना महिलालाई साक्षर बनाइसकेको छ ।

प्रतिक्रिया