व्यावसायिक पुनरुत्थान गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंक समक्ष कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको माग गरेको छ । सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले मौद्रिक नीतिमार्फत् घोषणा गरिएका राहत प्याकेज कार्यान्वयन गर्न धेरै समस्या रहेकाले व्यावसायिक पुनरुत्थानको माग गरेका हुन् ।

भेटमा अध्यक्ष गोल्छाले कतिपय बैंक वित्तीय संस्थाले नीति र कार्यविधीमा उल्लेख भए बमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा परेकोले यसतर्फ ध्यान दिन गभर्नरको ध्यानाकर्षण समेत गरेका महासंघले जनाएको छ ।

महासंघका मागहरु
पुष मसान्तसम्म दिइएको कर्जाको सावाँ–ब्याज बुझाउने अवधि ३ महिना थप गरी चैत्र मसान्तसम्म पुर्याउनुपर्ने, व्यवसायलाई निरन्तरताका दिन ५० अर्बको छुट्टै कोष बनाउने सरकारको नीति कार्यान्वयन गरी विना झण्झट उक्त कोषको रकम व्यवसायीलई उपभाग गर्न दिनुपर्ने माग महासंले राखेको छ ।

त्यस्तै, साना तथा मझौला उद्यम लक्षित पुर्नकर्जा लिन प्रक्रिया सहज बनाउनुपर्ने, बैंक वित्तीय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न वहानामा कालोसूचीमा नराख्न, दुई बर्ष घाटामा गएको ऋणीलाई ‘वाचफुल लिष्ट’मा राख्ने व्यवस्था हाललाई स्थगित गर्न माग गरेको छ ।

बैंकिङ क्षेत्रमा अधिक तरलता रहेकोले उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गर्नुपर्ने, बैंक वित्तीय संस्थाले परियोजना कर्जा प्रवाह गर्नुपर्ने, अनलाइन भुक्तानीको सीमा बढाउनुपर्ने, सरकारी राजस्व, दस्तुर सेवा शुल्क अनिवार्य रुपमा अनलाइन भुक्तानी गर्ने गरी व्यवस्था मिलाउनुपर्ने तथा क्रेडिट रेटिङ गरिएका ऋणमा अन्य प्रक्रिया पुनरावलोकन गर्नुपर्ने माग महासंघले गरेको छ ।

माग पत्र ग्रहण गर्दै गभर्नर अधिकारीले कोभिड १९ प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । साथै गभर्नर अधिकारीले राष्ट्र बैंकले उपलव्ध गराएका पुनर्कर्जालगायतका सुविधाका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा सचेतानामूलक कार्यक्रम लैजाने जानकारीसमेत गराएको महासँघले जनाएको छ ।

प्रतिक्रिया