पी एम कप क्रिकेट : वाग्मतीकाे लगातार दाेस्राे जित

काठमाडाैं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

वाग्मतीले सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । वाग्मतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो ।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । सुदुरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलिय फर्किएका थिए ।

सुदुरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए । नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट आफ्नो लेखाए ।

यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो । युवा ब्याट्सम्यान पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए पवेलियन फर्किए । इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे ।

बलिङ तर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए । लगातार जित निकालेको बागमतीले २ खेलमा ४ अंक जोडेको छ । बागमती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ ।

यसअघि वाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो भने पराजयबाट सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगितामा भाेलि मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया