६ करोड ८१ लाखले जिते कोरोना

काठमाडौं । विश्वभर कोभिड-१९ को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारका ६ करोड ८१ हजारभन्दा धेरै संक्रमणमुक्त भएर घर फर्केका छन् ।

कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको वेबसाइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ८१ लाख ६७ हजार १६१ जना संक्रमणमुक्त भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर २० लाख ३९ हजार ६०१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ९ करोड ५४ लाख ७९ हजार ६२ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ४ लाख ७ हजार २०२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४४ लाख ८२ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७४ हजार ५६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ८४६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १४५ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ९६२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ५ लाख ७२ हजार ६७२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ८४ लाख ८८ हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५१८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ लाख ९ हजार ८६८ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया