मुर्त–अमुर्त सम्पदा संरक्षणमा काठमाडौं महानगरपालिका एकाग्र छ : मेयर शाक्य

काठमाडौँ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा महानगरपालिका एकाग्र भएको  बताएका छन् । आज (आइतबार) वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहार आँग छेँंको शिलान्यासका क्रममा यस्ताे बताएका हुन् ।

‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । तिनीहरुमध्ये केही सम्पदाहरुमा स्वामित्वको विवाद छ’, मेयर शाक्यले भने, ‘केहीमा निकायगत समन्वयको अभाव छ । यी सम्पदालाई यत्तिकै छोड्ने हो भने जीर्ण सम्पदा भग्नावशेषमा रुपान्तरण हुन्छन् । हामी त्यस्तो अवस्था हेर्न सक्दैनौँ ’

यस्तै उनले नेवार समुदायकाे परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेकाे भन्दै उनीहरुको जाँगरलाई प्रोत्साहन गर्नु सरकारको दायित्व भएकाे बताए । उनले भने, ‘यसमा हामी जिम्मेवार छाैँ । हाम्रो लगानी र प्रयासबाट महानगरवासी थप आशावादी बन्नुभएको मैले महसुस गरेको छु ।’

काठमाडौंमा १८ वटा मुख्य महाविहार छन् । तीमध्ये लगं बहाः एक महत्वपूर्ण महाविहार हो । प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः बुद्ध शासनकालसँग जोडिएको सांस्कृतिक एवं पुरातात्विक महाविहार हो ।

यो महाविहार आफ्ना पुर्खाले निजी स्रोतबाट महाविहार निर्माण गराएको स्मरण गर्दै मेयर शाक्यले, आफू स्थानीय सरकारको प्रमुख भएको बेला पुननिर्माण गर्न पाएकोमा गौरव लागेको बताए ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रुपैयाँ रहेको छ । २०७८ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम थालिएको हो । पुननिर्माणको काम तुलसी कन्स्ट्रक्सनले पाएको छ ।

महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रको दिगु द्यः को पुननिर्माण सम्पन्न गरेको छ । २०७२ सालको शक्तिशाली भूकम्पले दिगु द्यः क्षतिग्रस्त भएको थियो । दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता –दिगु द्यः) का रूपमा पुजिने गरेको छ ।

महाविहारको उत्तर खण्डमा अर्को पनि आँग छेँ पुननिर्माण भइरहेको छ । भुइँतलाको काम भइरहेको यस संरचनाको मेयर शाक्यले निरीक्षण गर्नुभयो । बुद्धको शासनपछि करीब २ हजार ४ सय बर्षपछि कपिलवस्तुबाट शाक्यहरु लखेटिए । त्यहाँबाट लखेटिएका शाक्यहरु विभिन्न ठाउँमा गए । तीमध्ये केही लगँ वहालमा आए । यतै बस्ती बसाए भन्ने विश्वाश छ ।

प्रतिक्रिया