तराईमा शितलहर : विपन्नलाई जीवन जोगाउनै सकस

सुमन सुस्केरा-

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित नेमुवाको मुसहरी टोल एउटा सुकुम्वासी बस्ती हो । शनिवार यो बस्तीमा विभिन्न समूहमा आगो ताप्नेहरू मात्र देखिन्थे । एक ठाउँमा देखिएका बस्तीका १० जना जति गोलाकारमा बसेर चिसोलाई छल्ने प्रयास गर्दै गरेका । वृद्धदेखि बालबालिका परालको घुर ताप्नेमा बढी थिए भने उनीहरूसँगै उमेर पुगेका तन्नेरी पनि देखिन्थे ।

घुर ताप्ने मध्येकी फेकनी ऋषिदेव जाडोले बाँच्नै नसकिने अवस्था आएपछि घुरको सहायतामा जीवन जोगाएको बताउँछिन् । अत्यधिक चिसोको कारण घर भित्र पनि बस्नै नसकिने अनि बाहिर घुर ताप्दा न्यानो हुने भएकोले सबै मिलेर घुर ताप्ने गरेको उनले सुनाईन् । यो बस्तीमा करिब ५० घरको हाराहारीमा अधिकांश सुकुम्वासी र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार छन् । लगाउने लत्ता कपडा नहुने अनि ओढ्ने र ओछ्याउने समेत नहुँदा बाँच्नै गाह्रो हुने गरेको उनीहरू सुनाउँछन् ।

न्यानोको खोजीमा परालको घुर ताप्नु आफूहरूको बाध्यता भएको फेकनी बताउँछिन् । ‘गत वर्ष त चिसोको मौसममा धेरै जना आएर लत्ता कपडा बाँडेका थिए, उनले सम्झिइन्, खै यो वर्षको जाडो त कोही सोध्न पनि आएको छैन, यसै जाला जस्तो छ।’

उनीहरूको दैनिकी बिहान उठेदेखि रातीसम्म जाडोको सहयात्री घुर नै हो । घुर ताप्यो अनि राती त्यही घुरको वरिपरि निन्द्रा लाग्न थालेपछि सुत्यो । हरिनारायण ऋषिदेव जाडोकै कारण मर्नु भन्दा घुर तापेर ज्यान जोगाउनु नै फाइदा हुने बताउँछन् । ‘जाडो धेरै बढेको कारण हामी जस्ता गरिबलाई समस्या भएको छ, उनी भन्छन्, हुनेले त जोहो गरेकै छन् नहुनेलाई समस्या भयो ।’


विगत एकसातादेखिको अत्यधिक चिसोको कारण जनजीवन प्रभावित भएको छ । चिसो बढ्न थालेपछि अति विपन्न मुसहर समुदायमा कसरी जाडो कटाउने भन्ने चिन्तामा देखिन्छन् । प्रत्येक वर्ष जाडोमा कठ्याङ्ग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने भन्नेमा छन् । उनीहरू के लाउने मात्र हैन के ओछ्याउने र के ओढ्ने भन्नेमा छन् ।

यस वर्ष पुसमा खासै चिसोको महसुस नगरेको भए पनि पुसको अन्तिम साताबाट सुरु भएको सित लहरसँगै समस्या देखिएको हो । चरम आर्थिक अभावमा रहेका उनीहरूका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ ।

निरन्तरको शीत लहर र चिसोले विपन्न तथा मुसहर बस्ती र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित हुँदै आएको बुढिगंगा ४ का मोहम्मद अब्बास बताउँछन् ।

‘बाक्लो हुस्सु र चिसो हावाका कारण हामी जस्ता मजदुरी गरेर खानेलाई निक्कै समस्या हुने गरेको छ, अब्बासले भने, गरिबीका कारण बूढाबूढीहरू न्यानो लुगा र तागतिलो खानपान बन्दोबस्त गर्नै सक्दैनौँ ।’

प्रतिक्रिया