खैरहनीको कुमरोजमा बीउ श्रोत केन्द्र बनाईँदै

चितवन । चितवनको खैरहनीमा साझेदारीमा बीउ श्रोत केन्द्र निर्माण गरिन लागिएको छ । खैरहनी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भरतपुर र साना किसान कृषि सहकारी संस्था कुमरोजको लागत साझेदारीमा बीउ श्रोत केन्द्र निर्माण गर्न लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० लाख, सहकारीको १० लाख लागत तथा खैरहनी नगरपालिकाबाट बीउ प्रशोधन उपकरण खरिद गरि बीउ श्रोत केन्द्र निर्माण गर्न लागिएको सहकारीका अध्यक्ष तेजप्रसाद वर्तौलाले जानकारी दिए ।

उनका अनुसार सो केन्द्रबाट धान, मकै, गहुँ, मुसुरो लगायत बालीका बीउ उत्पादन हुन्छ । खैरहनी नगरपालिका १३ मा निर्माण गर्न लागिएको बीउ श्रोत केन्द्र भवनको शनिवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

खैरहनी नगरपालिका १३ का वडाध्यक्ष वालकुमार उप्रेतीले निर्माण गर्न लागिएको भवनको शिलान्यास गरे । सो अवसरमा वडाध्यक्ष उप्रेतीले खैरहनीबाट बीउ उत्पादन गरि मुलुकभर पुर्याउन सक्ने क्षमता रहेको बताए ।

खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीनाले बीउ श्रोतले किसानलाई फाईदा पुग्ने भन्दै अब सिंचाईलाई पनि जोड दिनु पर्ने औल्याए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले बीउका लागि अझै पनि वाहिरि जिल्ला धाउनु पर्ने वाध्यता अन्त्यका लागि बीउ श्रोत केन्द्र निर्माण गर्न लागिएको बताए ।

बीउ उत्पादन गर्ने किसानलाई अनुदानको समेत व्यवस्था रहेकाले किसानले उन्नत जातका बाली लगाउनु पर्ने तिमल्सीनाले सुझाव दिए । अहिले बीउ श्रोत केन्द्र र भण्डारण भवन बनाईनेछ । साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेज प्रसाद वर्तौलाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत माधव पौडेल, खैरहनी नगरपालिका कृषि अधिकृत दिपेन्द्र अर्याल, सहकारीका उपाध्यक्ष गीतानाथ अर्यालले मन्तव्य राखेका थिए ।

साना किसान सहकारी कुमरोजमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा तोरी प्रसोधन केन्द्र र कृषि यान्त्रिकरण तथा प्रविधि प्रर्दशन श्रोत केन्द्र समेत निर्माण गरिसकिएको छ ।

प्रतिक्रिया