प्रदेश १ मा न्यौपानेको नेतृत्वमा डोरी तान संघ

विराटनगर । रीता न्यौपानेको अध्यक्षतामा डोरी तान संघ प्रदेश १ समिति गठन भएको छ । १५ सदस्यीय संघको उपाध्यक्षमा झापाका सविता भेटवाल झापा, सचिवमा सुनसरीका युवराज चौधरी र कोषाध्यक्षमा झापाका राज कट्टेल चयन भएका छन् ।

संघको सदस्यमा उदयपुरका राजकुमार रोक्का, ईलामका युवराज प्रधान, मोरङका साक्षी न्यौपाने र सुनिता कार्की, सुनसरीका सन्तोेष तामाङ, खोटाङका पवन गुरुङ, धनकुटाका शिखर श्रेष्ठ, भोजपुरका अनिलकुमार राई र ताप्लेजुङका गगन गिरी रहेका छन् ।

समिति गठनका लागि डोरी तान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीको संयोजकत्वमा ३ सदस्य निर्वाचन समिति बनाईएको थियो । समितिले पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएको छ । नव गठित समितिलाई बधाई तथा शुभकामना दिँदै डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेलले अन्य खेल जस्तै डोरीतान पनि मौलिकता बोकेको खेल भएकोले यसलाई स्थापित गराउन प्रदेशले महत्वपुर्ण भूमिका खेलेको बताए ।

पदभार वहाली गर्दै नव निर्वाचित अध्यक्ष न्यौपानेले मोरङ जिल्लाका सबै पालिकामा गठन भएको डोरी तानलाई प्रदेश स्तरको बनाउन पाएकोमा खुसी ब्यक्त गरिन् । आगामी ३ महिना भित्रमा प्रदेशका सबै जिल्लामा डोरी तानलाई बिस्तार गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता प्रदेश १ मा गर्ने उनले दाबी गरिन् ।

डोरी तान खेलको शुरुवात नेपालमा बि.सं.२००७ सालदेखि भएको मानिन्छ । कर्णालीको हुम्ला, जुम्ला लगायत क्षेत्रमा यो खेललाई मौलिक खेलको रुपमा खेलिँदै आएकोमा पछिल्लो एक दशकदेखि ब्यवसायिकता पाएको हो ।

चाडपर्बका बेला रमाईलोको लागि डोरी तानातान गरेर खेलिने यो लेख २०६६ सालदेखि प्रतियोगिताका रुपमा खेलाउन थालिएको उपाध्यक्ष डा. पोखरेलले बताए ।

प्रतिक्रिया