‘भ्रष्टाचार अन्त्य नभए सुशासन कायम हुँदैन’

काठमाडौं । दिगो विकास तथा सुशासन समिति सदस्य बामदेव गौतमले नेपालमा भ्रष्टाचार घट्न नसकेको बताएका छन् । शुक्रबारको समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले यस्तो बताएका हुन् ।

भ्रष्टाचारको अन्त्य नभइन्जेलसम्म सुशासन कायम नहुने बताउँदै गौतमले भनेका छन्, ‘हाम्रो देशमा सुशासन कामय नहुँदा विभिन्न किसिमका विकृतिहरु जन्मेका छन् । भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार समाप्त गर्नुपर्छ भनेर भनिन्छ । तर, त्यसलाई अन्त्य गर्नको लागि पहलकदमीहरु देखिँदैन । कानून बनेको छ, नियमावली बनेको छ । तर, कानून नियमावलीहरु लागू भएका छैनन् ।’

भ्रष्टाचारको अन्त्य गर्ने उद्देश्यसहित सरकारले विभिन्न खालका कार्यक्रमहरु ल्याएपनि सुशासनको कायमता नरहेको बताएका गौतमले थप भनेका छन्, ‘कार्यक्रमहरु त घोषणा हुन्छन् । तर, त्यसपछि पहलकदमी भने कम हुन्छन् । घोषणाअनुसारको व्यवहार पाइँदैन ।’

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालसालै सार्वजनिक गरेको दक्षिण एसियाको प्रतिवेदनलाई स्मरण गर्दै गौतमले नेपालमा भ्रष्टाचार घट्नुको साटो झनै व्याप्त रहेको दृष्टान्त सुनाए । ‘अब हामीले सुशासन कायम गर्ने सन्दर्भमा गम्भीर हुनुपर्छ’, गौतमले भनेका छन् ।

फरक प्रसङ्गमा गौतमले भौतिक विकास गर्दा पर्यावरणीय पाटोलाई विशेष ध्यान दिनुपर्ने बताए । प्रकृतिमा रहेका सबैलाई ध्यान दिनुपर्ने बताएका गौतमले भने, ‘पर्यावरणीय पाटोलाई ख्याल गरेर मात्रै भौतिक विकासमा जोड दिनुपर्छ । त्यसो गरिएन भने विकास त होला । तर, ओजन तह नष्ट भएर पृथ्वीबासीलाई गाह्रो हुन्छ । जुन, हाम्रै मूर्खता हुनेछ ।’

प्रतिक्रिया