विनोद र राजेशको उत्कृष्ट प्रदर्शनमा आर्मीको विजयी शुरुवात

काठमाडौं । कप्तान बिनोद भण्डारीको शतक तथा राजेश पुलामीको अलराउण्ड प्रदर्शनको मद्दतमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शुक्रबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराउँदै सुखद शुरुवात गरेको हो ।
२ सय ८८ रनको लक्ष्य पाएको गण्डकी प्रदेश २ ओभर बाँकी छँदै १ सय ८९ रनमा अलआउट भयो ।

गण्डकीका समिर कँडेलले अर्धशतक बनाए भने बिपिन खत्री ३७ रनमा अविजित रहे । यस्तै अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन बनाए । आर्मीका राजेश पुलामीले ५ तथा भीम सार्कीले ३ विकेट लिए ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । कप्तान विनोदले १ सय ११ रन बनाएको खेलमा राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाए । बिनोदले ७३ बलमा ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।

गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले २–२ विकेट लिए । प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो ।

प्रतिक्रिया