प्रधानमन्त्री र न्यायाधीशकाे भेट भएकाे छैन : नेम्वाङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित अन्य न्यायाधीशलाई भेटेको भनी बाहिर आएको समाचारको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले कटाक्ष गरेका छन् ।

शुक्रबार केही सञ्चारमाध्यमहरुमा आएका उक्त प्रकृतिका समाचारहरुमा सत्यता नभएको बताउँदै संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङ्गले कटाक्ष गरेका हुन् । ‘यि समाचारहरुमा कुनै सत्यता छैन’, मकालु खबरसँग नेता नेम्वाङ्गले भनेका छन्, ‘यो सयमा पाँच सय प्रतिशत गलत हो ।’

विभिन्न सञ्चारमाध्यमहरुले सम्बन्धित उच्च स्रोतका आधारमा लेखेका समाचारहरुमा जनाइएअनुसार ओलीले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित अन्य चार न्यायाधीशसँग गोप्य रुपमा भेटेको थिए ।

आजै उक्त मुद्दामाथि सुनवाइ हुँदैछ । अघिल्लो बुधबार हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा थप सुनुवाइ आज हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासले यी मुद्दा हेर्दै हेरिरहेको छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

जसमा न्यायाधीश मल्ल पछि थपिएकी हुन् । बाँकी न्यायाधीश यसअघिकै दोहोरिएका छन् । अघिल्लो इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि कानून व्यवसायीले प्रश्न उठाएपछि उनले बाध्य भएर प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइमा आफू घोषणा गरेका थिए ।

शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ । त्यसपछि मात्रै मूल मुद्दा संविधानसम्मत हो कि होइन भन्ने विषयमा बहस केन्द्रित हुनेछ ।

प्रतिक्रिया