यी एजण्डासहित दाहाल–नेपाल पक्षीय स्थायी समिति बैठक बस्दै

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक आज पनि बस्दैछ ।  जनसंगठनको कार्यालय पेरिसडाँडामा ११ बजेपछि बस्न लागेको बैठकमा बिहीबार निष्कर्षबिहीन सकिएको एजेण्डामाथि नै छलफल हुने बताइएको छ ।

स्थायी समिति सदस्य वेदुराम भुसालले दिएको जानकारीअनुसार संसद् विघटनविरुद्ध संघर्षको दोस्रो चरणको  कार्यक्रममलाई थप सशक्त कसरी बनाउनेलगायतका विषयमा आजको बैठकमा छलफल हुनेछ ।

यसअघि गत १९ पुषमा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो । उक्त कार्यदलको जिम्मेवारीका बारेमा पनि आजको बैठक केन्द्रित रहनेछ ।

विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने यो समूहको आग्रहलाई जनता समाजवादी पाटी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहमत भइसकेको छैन ।

यसअघि गत बुधबार साँझ दुई अध्यक्ष दाहाल र नेपाल बूढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए । संयुक्त आन्दोलनमा जाने आग्रह लिएर देउवा निवास पुगेका दाहाल–नेपाल अन्ततः रित्तै फर्किए । देउवाले आफ्नो पुरानै अडान दोहोर्याए ।

प्रतिक्रिया