माया घरका बेसहारालाई नोबेलले १ बर्षसम्म निःशुल्क उपचार गर्ने

बिराटनगर । सुनसरीको इटहरी-२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन् । एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने र दुईपक्षीय सहमतिमा पुनः सम्झौता नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।असहायहरुलाई सहयोग पुर्याउँनका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.शर्माले जानकारी दिए । ‘हामीले पहिलेदेखिनै गरिब, बिपन्न तथा असहायहरुलाई निःशुल्क उपचार गर्दै आएका छौं ।’ डा.शर्माले भने-‘माया घरमा रहेका असहायहरुलाई पनि सहयोग गर्न निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’

२०७४ सालमा स्थापना भएको माया घरमा हाल ९७ जना महिला तथा वालवालिका बस्दै आएका छन् । जसमध्ये करिब ८० प्रतिशत मानसिक रोगी छन् । उनीहरुलाई उपचार गरेर पुनस्थापना गरिदै आएको छ । माया घरबाट हालसम्म करिब १२ सय जनालाई पुनस्थापना गरिसकिएको संस्थाका अध्यक्ष दासीले जानकारी दिइन् ।

प्रतिक्रिया