दोस्रो पटक ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रोपटक महाभियोग प्रस्ताव पारित गरेको छ । योसँगै अमेरिकी इतिहासमै ट्रम्प दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् ।

अघिल्लो हप्ताको बुधबार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरद्ध ट्रम्पकै पार्टीका सांसदहरुसमेत चिढिएका थिए ।

महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । त्यहाँको हाउस अफ रेप्रिजेन्टेटिभ्स्मा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य रहेका छन् ।

तर त्योभन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएकी त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो ।

ट्रम्प सन् २०२० को राष्ट्रपतिय चुनावमा जो बाइडेनसँग पराजित भएका छन् । जसमा आगामी २० जनवरीबाट बाइडेनले अमेरिकाको राष्ट्रपति जिम्मेवारी सम्हाल्दैछन् । त्यसभन्दा अगाडि नै ट्रम्पले हिंसा हड्काउने भन्दै सांसदहरुले महाभियोग प्रस्ताव पारित गरेका हुन् ।

प्रतिक्रिया