नेपालमा उत्पादन हुने वस्तुहरुकाे आयात राेक्नुपर्छ : माधवकुमार नेपाल

काठमाडाैं । सत्तारूढ नेकपाकाे दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताका क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताएका हुन् । नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनकाे भनाइ छ ।

विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गर्दै अघि बढेपनि आर्थिक विकासका निम्ति मानव संशाधन पनि महत्वपूर्ण हुने भन्दै उनले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताए । अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।

प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भएपनि सरकार गम्भिर नभएको उनको भनाइ छ । देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए ।

यस्तै उनले नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात रोक्नुपर्ने बताए । आयात प्रतिस्थापन गर्ने वस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विदेशबाट फर्किएका मानिसहरुको शिप, अनुभव, ज्ञान तथा पूँजी नेपालमै प्रयोग गर्नुपर्नेमा उनकाे जाेड छ ।

प्रतिक्रिया