‘विघटनकर्तासँगै मिलेर कसरी संसद् पुनर्स्थापनाको माग गर्नु ?’

काठमाडौं । गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालको राष्ट्रिय राजनीति सडक केन्द्रित बनेको छ ।

प्रधानमन्त्रीको संसद् विघटन गर्ने ‘विशेषाधिकार’ लाई संविधानले प्रत्याभूत नगरेको दाबी गर्दै एक चिरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत अन्य शीर्ष नेताहरुले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने अडान राखिरहेका छन् भने प्रधानमन्त्री ओलीले चाहिँ आफूले संविधानको धारा ७६ को ७ र धारा ८५ अनुसार विघटन गरेकाले अब कुनै पनि हालतमा पुनर्स्थापना नहुने अडान दोहोर्याउँदै आएका छन् ।

त्यसो त प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलले पनि विघटन हुनुलाई अलोकतान्त्रिक र असंवैधानिक नै भनेका छन् र उनीहरुले आ–आफ्नो हिसाबले पुनर्स्थापनाको माग गरिनै रहेका छन् । तर, पछिल्लो समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने ओलीको असंवैधानिक र अलोकतान्त्रिक ‘लाइन’मै उभिएको खासगरी दाहाल–नेपाल समूहसँगै राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।

यद्यपि यसअघि कांग्रेस, जसपा र नेकपा प्रतिनिधि विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने मोटामोटी समझदारी भएको थियो । उक्त विषयमा सभापति सभापति शेरबहादुर देउवाको प्रत्यक्ष संलग्नता नरहे  पनि कांग्रेसको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दैै आएका थिए । त्यसपछि कांग्रेसले भनेका थियो – ‘दुई दलसँगै मिलेर संयुक्त सडक संघर्ष गर्छौँ ।’

तर, आफ्नो सभापतिको अडानसँग चिढिएका पौडेलले त्यसपछि भने थप कदमहरु खासै चालेनन् । सोही विषयमा देउवा र पौडेलबीच पदाधिकारी बैठकमा भनाभनसमेत भएको समाचार सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । तत्पश्चात् तीनै दलले आ–आफ्नै अनुकूल विघटनविरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेर सडक संघर्ष गरिरहेका छन् ।

तर, बुधबार साँझ आफ्नो दोस्रो चरणअन्तर्गतको आन्दोलन चलिरहेको बेला दाहाल–नेपाल बूढानीलकण्ठस्थित देउवा निवास पुगे । भेटमा दुवै पक्षको अडान दोहोरियो । तर, कुनै पनि सहमति हुन सकेन । ‘उहाँहरुले फोन गर्नुभयो र हामी आउँछौँ, समसामयिक विषयमा छलफल गरौँ भनेर भन्नुभयो’ दाहाल–नेपाललाई उदृत गर्दै कांग्रेस नेता रमेश लेखकले मकालु खबरसँग भनेका छन्, ‘अन्य नयाँ विषयहरु थिएनन् । उही पुरानै विषयहरु थिए । उहाँहरुले संयुक्त आन्दोलनको कुरा गर्नुभयो । त्यसमा सभापतिज्यूले आफ्नो कुरा राख्नुभयो ।’

तीन विषयमा ‘बातचीत’
लेखकका अनुसार तीन नेताबीचको भेटमा खासगरी तीन वटै विषयमा संक्षिप्त बातचीत भएको थियो ।

‘पहिलो कुरा त, उहाँ (दाहाल–नेपाल) हरुले संसद् पुनर्स्थापनाको लागि एउटै एजेण्डा बनाऔं भनेर भन्नुभयो । दोस्रो, त्यसको लागि संयुक्त आन्दोलनमा जाऔं भन्नुभयो र तेस्रो, पुनर्स्थापनाको राजनीतिक रुपमा सहयोग गर्नुस् भनेर भन्नुभयो’ नेता लेखकले थप भनेका छन्, ‘जवाफमा सभापतिज्यूले आफ्नै अडान दोहोर्‍याउनुभयो । उहाँले उक्त विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकोले आन्दोलनमै गएर प्रभावित नगरौँ भनेर भन्नुभयो । तै पनि आफूले पार्टीभित्र छलफल गर्ने आश्वस्तता दिलाउनुभयो ।’

‘हामीले सम्मानित अदालतको फैसलालाई मान्नुपर्छ । स्वतन्त्र अदालतले संधिवानमै टेकेरै राम्रो फैसला सुनाउँछ भन्ने लागेको छ’, देउवालाई उदृत गर्दैै नेता लेखकले भनेका छन् ।

संसद् विघटनकर्ता नेकपासँगै मिलेर संयुक्त आन्दोलनमा जाँदैनौँ
नेता लेखकले प्रतिनिधि सभा विघटन गर्ने नेकपासँगै मिलेर आफूहरु संयुक्त आन्दोलनमा जान तयार नरहेको बताए । ‘हामी तयार छैनौँ किन भनेका हौँ भने विघटन गर्ने पनि नेकपा नै पुनर्स्थापना गर्नुपर्छ भनेर भन्ने पनि नेकपा नै । अब कसरी हुन्छ । बरु हामी आफैँ नै आन्दोलनमा जान्छौँ’, उनले भनेका छन् ।

कुनै एक समूहलाई सहयोग गर्नुपरे कांग्रेस आफैँले नै निर्णय लिने बताउँदै नेता लेखकले भनेका छन्, ‘कांग्रेस पनि असक्षम छैन । आफ्नो निर्णय आफैँ लिन सक्छ । त्यस्तो कुनै एकलाई सहयोग गर्नुपर्ने अवस्था आएको खण्डमा कांग्रेसले बैठक राखेर निर्णय लिन्छ । अहिले तटस्थ नै हो ।’

तपाईँहरु संयुक्त आन्दोलनमा जान नसक्नुको अन्तर्य चाहिँ के हो ? भन्ने प्रश्नको सामना गर्दै नेता लेखकले भनेका छन्, ‘होइन यो त हाँस्यास्पद कुरा भएन र भन्या ? अब अहिले सरकार नेकपाकै छ । अनि प्रतिनिधि सभा विघटन गर्ने पनि नेकपा । पुनर्स्थापना हुनुपर्छ भनेर उफ्रिने पनि नेकपा । हाम्रो पनि आफ्नो राजनीतिक सिद्धान्तहरु छन् । त्यही भएर हामी संयुक्त आन्दोलनमा जान सक्दैनौँ भन्या हौँ ।’

नेता लेखकले त्योभन्दा अगाडि भने, ‘आज पनि उहाँहरको अन्तरद्धन्द्ध उस्तै नै छ । प्रचण्डजी र माधवजीले ओलीजीलाई केन्द्रीय सदस्य मात्रै हो भनेर भन्नुहुन्छ । फेरि उता ओलीजीले मै हुँ प्रथम अध्यक्ष भन्नुहुन्छ । उहाँहरुबीच रिस साँध्न मात्रै यस्तो भएजस्तो देखिन्छ ।’

पछिल्लो समय सभापति देउवाको भूमिकाबारे उठेको सवालबारे जिज्ञासा राख्दा नेता लेखकले प्रतिपश्न गरेका छन् । उनले भने, ‘अब सभापतिज्यूकै सभापतित्वमा बसेको बैठकले बकैदा प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवैधानिक छ भनेर भनिसकेपछि पनि केही भन्न बाँकी रह्यो र ?

प्रतिक्रिया