राष्ट्रपतिबाट बाहिरिँदै गरेका ट्रम्पमाथि महाभियाेग किन ?

काठमाडाैं । अमेरिकी क्यापिटल भवनमा डाेनाल्ड ट्रम्पका हिंस्रक समर्थकहरूकाे हमलापछि रिपब्लिक पार्टी नै समर्थक र विरोधी गरी दुई गुटमा विभाजन भएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार नयाँ सर्वेक्षणमा यी कुराले पार्टीलाई हानी पुर्याउन सक्छ ।

अमेरिकाकाे तल्लाे सदन प्रतिनिधि सभामा रिपब्लिकन पार्टीका १० सांसदले ट्रम्पविरुद्धकाे महाअभियाेग प्रस्तावकाे समर्थन गरे । आफ्नो भाषण मार्फत् समर्थकहरूलाई हिंसात्मक गतिविधिका लागि उक्साएकाे राष्ट्रपति ट्रम्पमाथि आरोप छ । उनैका कारण सदनमा हमला भएकाे दाबी गरिँदै आएकाे छ ।

यो आक्रमण अमेरिकी कांग्रेसको बैठक चलिरहेका बेला भएको थियो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनकाे औपचारिक जीतकाे घाेषणा पनि यही बैठकले गर्दै थियाे ।

प्रतिनिधि सभामा डेमोक्र्याटिक पार्टीकाे बहुमत छ । उनीविरूद्धकाे महाअभियाेग २३२-१९७ मतले पारित भएकाे थियाे । ट्रम्पविरूद्ध महाअभियाेग लगाइएकाे याे दाेस्राे पटक हाे, जबकी उनकाे कार्यकाल जनवरी २० मा समाप्त हुँदैछ ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याकोनेलले तत्कालका लागि महाअभियाेकाे परीक्षणकाे माग खारेज गरिदिएकाे बीबीसीले जनाएकाे छ । ट्रम्पले पद छाेड्नुअघि महाअभियाेग प्रक्रिया पुरा गर्नुकाे कुनै औचित्य नरहेको उनको भनाइ छ ।

ट्रम्पले जनवरी २० सम्ममा ह्वाइट हाउस छाेड्नेछन् । त्यसपश्चात् पनि सिनेटमा महाअभियाेगका लागि उनी दाेषी ठहरिएमा अर्काे निर्वाचनमा फेरि सहभागी हुनबाट बञ्चित हुन सक्नेछन्, अर्थात् प्रतिबन्ध लाग्न सक्नेछ । ट्रम्पले २०२४ काे निर्वाचनमा सहभागीता जनाउने एवम् प्रचार प्रसारमा सहभागी हुने संकेत दिइसकेका छन् । यसकारण सिनेटले ट्रम्पकाे सहभागीतालाई लिएर पनि मतदान गर्न सक्नेछ, ताकि ट्रम्प कहिल्यै पनि राष्ट्रपतिय निर्वाचनमा सहभागी हुन नसकून् !

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले दुवै काम एकसाथ अघि बढाउनका लागि विकल्प खाेज्नुपर्ने बताएका छन् । उनले भनेका छन् – ‘मलाई आशा छ कि सिनेटले नेतृत्वकाे महाअभियाेगकाे संवैधानिक जिम्मेवारी र सरकारी कामकाज सँगसँगै लैजाने बाटाे खाेज्नेछ ।’

ट्रम्पले अझै हार अस्वीकार गरिरहेका छन् । बाइडेनले भने महाअभियाेग प्रक्रियाका कारण सरकारकाे काम राेकिनु नहुने बताउँदै आएका छन् । यसकाे अर्थ बाइडेन सत्तामा आएपछि पनि ट्रम्पविरूद्ध महाभियोगको प्रक्रिया अगाडि बढ्नेछ ।

ट्रम्पले निर्वाचन परिणाममा आफूलाई धोका भएको बताउँदै आएका छन् । उनले केही दिनअघि मात्रै आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा भनेका थिए- ‘चुनावी जीत हामीबाट चोरी भएको छ र यसलाई हामीले जसरी भएपनि फिर्ता लिनुपर्छ । हामीले सामर्थ्य देखाउनु पर्छ । हामीले झगडा गर्नुपर्नेछ र धेरै फरक तरिकाले लड्नुपर्नेछ ।’

ट्रम्पविरूद्ध लागेकाे महाअभियाेग प्रस्तावकाे पक्षमा मतदान गरेका रिपब्लिकन पार्टीकै एक सांसद एडम किन्जिंगरले ट्वीट गर्दै भनेका छन्- ‘आज महाभियोगको पक्षमा मतदान गर्नु मेरो लागि सान्त्वनादायी क्षण थियो । मैले भोटलाई हल्का रूपमा लिएको थिइनँ, तर मैले यो विश्वास एकदमै आत्मविश्वासका साथ प्रयोग गरेँ । म आफैंमा शान्ति महसुस गर्छु ।’

प्रतिक्रिया